गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग पुरा हुने

काठमाडौं, ४ असार । कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन ।
धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताए । उनले भने, गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ ।
गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए । नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए । धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रूपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरूपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरेका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि प्रदेश सरकार स्थानीय पालिकासँग साझेदारी गर्न पछि नपर्ने बताए । उनले पश्चिम सेती जलविद्युत् परियोजना र प्रस्तावित गेटा मेडिकल कलेजलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहल हुन जरुरी रहेको बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले पाँचवर्षे कार्ययोजना अघि बढाएको जानकारी दिए । उनले भने, “सुदूरपश्चिमको प्रवेशद्वार धनगढीको विकास र समृद्धिका लागि प्रदेश र सङ्घीय सरकार विकासका काममा साझेदार बन्न आवश्यक छु ।” नेपाल सरकार र उपमहानगरपालिकाको रु सात करोड २३ लाख ४५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो । पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन् ।
यसैगरी,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे । यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ, पौडेलले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गरेका छन । विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।
वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरे । देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उनिहरूकै झगडाका कारण कांग्रेस नेतृत्वमा सरकार बनेको छ, पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर हुनुमा कांग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको बताउँदै भने, कम्युनिष्टहरू मिलेका कारण पनि कांग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ ।
संविधान निर्माणका लागि कांग्रेसको योगदानलाई जनताले भुल्न नसक्ने बताउँदै उनले भने, माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन मेरो ठूलो भूमिका छ । वरिष्ठ नेता पौडेलले उत्पादनमुखी हुनुपर्नेमा जोड दिँदै खेत मासेर घर बनाउने कार्य नगर्न सुझाव दिए । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले आफ्नोे धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.