अभिनेत्री पूजा शर्मा र आँचल शर्माको फिल्म बक्सअफिसमा भिड्ने


काठमाडौं, ४ असार । अभिनेत्री पूजा शर्मा र आँचल शर्माको फिल्म बक्सअफिसमा भिड्ने भएका छन् । यसअघि भदौ ३१ लाई प्रदर्शन मिति तोकिएको आँचल अभिनीत फिल्म ‘झिंगेदाउ’ दुई हप्ताअघि सरेर भदौ १७ मा आएपछि उनको भिडन्त पूजासँग निश्चित भएको हो । यो मितिमा पूजा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।
नेपाली फिल्म क्षेत्रमा एकअर्काका प्रतिस्पर्धी मानिने यी दुई फिल्म दुवै शर्मा अभिनेत्रीका लागि बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । आँचल अभिनीत पछिल्ला फिल्मले हलमा घुँडा टेकेकाले ‘झिंगेदाउ’ सफल भए उनको करिअरलाई धेरै ठूलो राहत मिल्नेछ । त्यस्तै, पूजालाई बाहिरी ब्यानरको फिल्म पनि सफल बनाएर आफ्नो स्टारडम प्रमाणित गर्नुपर्ने चुनौती छ । त्यसैले दुई अभिनेत्रीको फिल्मको भिडन्त रोचक हुने देखिन्छ ।
शुक्रवार दुई पोस्टर सार्वजनिक गर्दै भदौ १७ लाई प्रदर्शन मिति घोषणा गरिएको ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा हुन् । केही दिनअघि १५ लाख खर्चेर निर्माण टिमले एक गीत खिचेको थियो । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्ममा आँचलसँगै अभिनेत्री केकी अधिकारीको पनि मुख्य भूमिका छ । फिल्ममा उनीहरु जेठानी र देवरानीको भूमिकामा छन् ।
अभिनेता द्वय मुकुन भुषाल र कुशल बिष्टको पनि मुख्य भूमिका रहेको यो फिल्म भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।
यसैगरी, आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ । टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा फिल्म केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले निर्देशन गरेकाले ‘म’प्रति अपेक्षा उच्च छ ।फिल्म सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ । यो फिल्मबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटिभ निर्माता रहेको यस फिल्मको निर्मातामा विमला हुमागाईं र पदम पुरी छन् ।
जीवन पराजुली मिडिया को–अर्डिनेटर, भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको फिल्मलाई डिजिटल सिनेमा नेपाल (डिसिएन) र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published.