एन्फाको निर्वाचनका लागि ५० जनाको उम्मेदवारी दर्ता


काठमाडौं, १४ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यमा गरि ५० जनाको उम्मेदवारी परेको छ । एन्फाको अर्को महिना हुने निर्वाचनका लागि मनोनयनको अन्तिम दिन बिहीबार एक अध्यक्षसहित ५० जनाको उम्मेदवारी परेको हो । मनोनयन दर्ताको अन्तिम दिन शुक्रबार फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले एन्फा अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि कुल ३ जनाको उम्मेदवारी परेको छ । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले सोमबार अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम दिन सदस्यमा मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकुमार सावाँले मनोनयन दर्ता गराएको एन्फा निर्वाचन समितिले जनाएको छ । अब एन्फाको २१ सदस्यीय कार्यसमितिका ५४ जनाको उम्मेदवारी परेको छ ।
शेर्पा र नेम्बाङले भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल प्रस्तुत गरेका छन् । शेर्पा समूहबाट शिक्षित पराजुली र नेम्बाङ समूहबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो । एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । बुधबार सम्म वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । नेम्बाङकोतर्फबाट भोजपुर एन्फा प्रविण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अनौपचारिक रुपमा प्यानल भनिएपनि उम्मेदवारी दर्ता भने स्वतन्त्र रुपमा गर्नुपर्ने हुन्छ । नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
शेर्पा समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनिष जोशी, रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका थिए । २ महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठ मनोनयन दर्ता गराएका थिए ।
यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि प्रक्रिया चलिरहँदा एन्फाका पूर्व अध्यक्ष गणेश थापा आफू अन्यायमा परेकोले न्याय पाउ भन्दै खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ढोका ढकढक्याउन पुगेका छन् ।भ्रष्टचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्ध खेपिरहेका एन्फाका पूर्व अध्यक्ष थापाले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो झुठ्ठा र काल्पनिक आरोप लगाउँदै चरित्र हत्या गरेकोले छानविनको माग गर्दै बिहीबार राखेपमा निवेदन दर्ता गराएका हुन् । थापाले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई निवेदन बुझाएका छन् ।
थापाले पेश गरेको निवेदनमा आफ्नोविरुद्ध चरित्र हत्या गरेको र आफुमाथि झुठ्ठा र काल्पनिक आरोपहरुको बिषयमा गम्भिर छानविन गरेर सत्य तथ्य कुरालाई सार्वजनिक गर्न आग्रह गरेका छन् । थापाले वैशाख २८ मा पत्रकार सम्मेलन गरेर आफ्नोविरुद्ध शेर्पाले लगाएको मुख्य १४ आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
उनले स्थानिय निर्वाचन पछि आफू न्यायका लागि अघि बढ्ने पत्रकार सम्मेलनमा बताएका थिए । उनले राखेप, युवा तथा खेलकुद मन्त्रालयलाई छानविनको माग गर्ने बताएका थिए । उनले आवश्यकता परे अदालत सम्म जान सक्ने जनाएका थिए ।उता फिफाले भने थापालाई प्रतिबन्धकै समय रहेको भन्दै फुटबल सम्बन्धि कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको थियो । थापाले विज्ञप्ती जारी गर्दै शेर्पाविरुद्ध एन्फाको विधानको धारा ८ तथा फिफाको इथिक्सको आर्टिकल ५८ को बुँदा नम्वर ३ बमोजिम कारवाही गर्न पनि माग गरेका छन् ।
एन्फाको केन्द्रिय निर्वाचन नजिकिदै गर्दा अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्नो छुट्टै प्यानल बनाएर विभिन्न पदमा उम्मेदवारी दिइसकेका छन् । एन्फा निर्वाचन नजिकिदै गर्दा पुर्व अध्यक्ष थापा पनि कुनै न कुनै रुपमा सक्रिय हुन खोजिरहेको छ । एन्फा निर्वाचन असार ६ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published.