नयाँ फिल्म ‘वर एन्ड वधु’को निर्माण घोषणा, ‘कास्ट एन्ड क्रियू’को परिचय

काठमाडौं, १२ जेठ । नयाँ फिल्म ‘वर एन्ड वधु’को औपचारिक निर्माण गर्ने निर्देशक मिलन चाम्सले घोषणा गरिएका छन ।
फिल्म बनाउने मेशिनको रुपमा चिनिएका चाम्सले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’को परिचय गराइयो । लभस्टोरी कथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ ।
जेठ अन्तिमबाट छायांकन सुरु हुने फिल्ममा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । फिल्ममा साम्राज्ञी गेस्ट रोलमा हुनेछिन् । रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
कार्यक्रममा निर्देशक चाम्सले आफूले यसअघि निर्देशन गरेका फिल्मभन्दा ‘वर एन्ड वधु’ फरक हुने दाबी गरे । विगत चार वर्ष अगाडिदेखि आँचल शर्मासँग फिल्ममा सहकार्य गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुशी व्यक्त गरे । त्यस्तै, आँचलले निर्देशक चाम्ससँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै फिल्ममा दर्शकले आफूलाई अलग रुपमा देख्न पाउने बताइन् ।
यो फिल्मका लागि अभिनेत्री शर्माले १० केजी तौल घटाएकी छन् । फिल्मको चरित्रमा फिट हुनका लागि आफूले शरीरलाई फिट बनाएको उनको भनाई छ । उनको जोडीको रुपमा प्रस्तुत हुन लागेका विवेकले पनि फिल्मका लागि २ वर्षदेखि मेहेनत गरिरहेका छन् । अभिनेता सरोज खनालबाट अभिनय सिकेका उनले आँचलसँग फिल्ममा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको फिल्ममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ ।
यसैगरी, फिचर फिल्मको लम्बाईमा नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त गरियो । फिल्मको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरुको जोडी बाँधिएको छ ।
सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको बुधवारबाट छायांकन सुरु भएको छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक–गायिकाहरुको स्वर रहेको छ ।
निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए । उनले भने, ‘फरक–फरक शैलीका लोकगीतमार्फत् फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर, यो सुखान्त मुना मदन हुनेछ । यो फिल्मले समाजलाई सकारात्मक सन्देश दिनेमा विश्वस्त छु ।’ भिन्न जातीका दुई केटा–केटीको प्रेमकथामा फिल्म आधारित हुने उनले जानकारी दिए ।
यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्मभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनी बताउँछन् । उनले यसअघि सयौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
फिल्मको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति चलचित्र निर्माण भएका छैनन् । करीब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *