एसियन कप छनोट खेल्न राष्ट्रिय फुटबल टोली कतार प्रस्थान


काठमाडौं, १२ जेठ । एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० गते सम्म कतारमा प्रशिक्षणमा रहनेछ । त्यहाँ रहँदा टोलीले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।
टिमोर लिस्टेसँग यही शनिबार र ओमानसँग अर्काे साताको शुक्रबार हुनेछ । जेठ २१ गते टोली कुवेत जानेछ । टोलीले जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर असार १ मा स्वदेश फर्कनेछ ।
नेपाल रहेको समूह एमा कुवेत, जोर्डन, इन्डोनेसिया रहेको छ । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीको विवादको अन्त्य नभएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका छन् । देश बाहिर रहेका किरण चेम्जोङसहित बन्द प्रशिक्षण छोड्न बाध्य पारिएका ११ खेलाडी विना नै राष्ट्रिय टोलीको अन्तिम छनोट गरेपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका छन् ।
अन्तिम टोलीमा गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा,डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी, फरवार्डमा आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ रहेका छन ।
यसैगरी,नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगका ६ टोलीको नाम सार्वजनिक भएको छ । मंगलबार बसेको बोर्ड बैठकलले नेपाल टि२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवा मध्य एक हुने गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो ।
त्यस्तै क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अवदेखि राष्ट्रिय मान्यता नपाउने भएका छन् । क्यानले हालसम्म सञ्चालनमा रहेका फ्रेन्चाइजले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै धन्यावाद सहित आफ्नै लिग आयोजना गर्ने हुँदा राष्ट्रिय मान्यता नदिने जनाएको छ । इपिएल सहित तीन फ्रेन्चाइज लिगले क्षेत्रिय संरचनामा भने आयोजना गर्न अनुमति दिन सक्ने जनाएको छ ।नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।

 

यस्तै, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सहित ६ क्रिकेट खेलाडीलाई ज्याप नेपालले प्रायोजन गरेको छ ।ज्याप नेपालले बुधबार एक पत्रकार सम्मेलन गर्दै क्रिकेट ब्याटसहित सामग्री एक वर्षको लागि सम्झौता गरेको छ । ज्यापले सन्दीपसहित युवा ओपनर सुनिल धमला, देव खनाल, आक्रामक ब्याटर आदिल अन्सारी, अलराउन्डर भीम सार्की र विकेटकिपर विनोद भण्डारीलाई प्रायोजन गरेको हो ।उनीहरुलाई क्रिकेट ब्याट सहित सामग्री प्रदान गर्ने छ । सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका मालिक भव्य भारद्धाज र ६ खेलाडीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । विकेटकिपर विनोद भण्डारीले ज्याकको ब्याट बुधबार अभ्यासमा प्रयोग गर्दा राम्रो पाएको बताए ।
‘ आज अभ्यासमा मैले यो ब्याट प्रयोग गरेको थिए । सबैले राम्रो छ भन्नु भएको छ । हामीलाई चाहिँने राम्रो ब्याटनै हो । पहिला सुनेको थिए । राम्रो क्रिकेट सामग्री लाग्यो,’ विनोदले भने । त्यस्तै कप्तान सन्दीप लामिछानेले ब्याटबाट लामो यात्रा गरेको हुँदा यसले नेपालमा लामो यात्रा गर्ने बताए । नेपालका लागि प्रतिनिधि तथा पूर्व नेपाली क्रिकेटर लाक्पा लामाले सामग्री स्तरिय हुनुको साथै नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने बताए । सम्झौतको रकम भने गोप्य राखिएको छ । ज्याप क्रिकेटका मालिका भव्यका अनुसार विस्तारै अन्य खेलाडीहरुलाई पनि प्रायोजन गर्ने योजना रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published.