काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्नुभएको छ । भोलि शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीेले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ । समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पु¥याउने विशेष अवसरका रूपमा हामीले निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउँदै उहाँले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो भन्नुभएको छ । उहाँले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गर्नुभएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताउनुभयो । “बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पु¥याउन म सबैमा आग्रह गर्दछु”, प्रधानमन्त्री देउवाले अपिलमा भन्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित मतदान केन्द्रवाट मतदान गर्नु हुनेछ ।
यस्तै,
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ । निर्वाचन हुने अघिल्लो दिन आज सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आपूmलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिनुहुन सबै मतदाताप्रति हार्दिक आग्रह गर्नुभएको छ । उहाँले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुन आग्रह गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने महत्वपूर्ण दिन भएकाले निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्ने अवसर गौरवपूर्ण दिन पनि भएको पनि बताउनुभयो । “कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावप्रति हार्दिक आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “निर्वाचनका सबै तयारी पूरा भइसकेका छन् ।” शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान कार्यसम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाइएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ । कुनै पनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै प्रमाणका आधारमा विवरण यकीन गरी मतदान गर्न पाउने आवश्यक प्रबन्ध मिलाइएको छ । सन्देशमा आयोगको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गर्ने उद्देश्य पूरा गर्न निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।