फिल्म ‘२ नम्बरी’को सुटिङ प्याकअप


काठमाडौं, २९ वैशाख । फिल्म ‘२ नम्बरी’को सुटिङ प्याकअप भएको छ । एक गीतसहित २६ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । ल्वाङ गाउँमै सम्पूर्ण छायांकन भएको फिल्मको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई तोकिएको छ । फिल्मले दुई मिल्ने साथीको कथा भन्नेछ ।
‘२ नम्बरी’को दुई वर्ष अगाडि पनि छायांकन भएको थियो । तर, कोरोना महामारीका कारण अधुरैमा छायांकन रोकियो । संक्रमण सामान्य भएपछि पुनः छायांकन थाल्ने तयारी हुँदै गर्दा फिल्मका मुख्य अभिनेता पल शाह कानुनी झमेलामा फसे । अर्का कलाकार जयनन्द लामाको निधन भयो । उता, सुटिङमा निस्कने समयमा अभिनेत्री वर्षा राउतले समय व्यस्तताका कारण फिल्म छाडिन् ।
केही प्रतिशत दृश्यमा अभिनय गरिसकेका कलाकारहरुको ‘कन्टिन्यूटि’ नहुने भएपछि निर्माण टिमले नायकमा सौगात मल्ल र नायिकामा उपासना सिंह ठकुरीलाई अनुबन्ध गर्दै फेरि सुरुबाटै फिल्मको छायांकन गरेको हो । पहिला खिचेको पार्ट फ्याक्नु पर्दा निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ । यो फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनको पनि मुख्य भूमिका छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ हुन् । यसअघि उनीहरुले फिल्म ‘पोइ प¥यो काले’मा सहकार्य गरेका थिए । ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाको चौथो निर्देशकीय फिल्म हो । फिल्म ‘घामपानी’बाट निर्देशन यात्रा सुरु गरेका उनले ‘गोपी’ र ‘छ माया छपक्कै’ गरी तीन फिल्ममा आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.