फिल्म ‘भागवद गीता’मा अभिनेत्री सुहाना मुख्य भूमिकामा देखिदै

काठमाडौं, २२ चैत । अभिनेत्री सुहाना थापा तेस्रो पटक पनि घरकै फिल्ममा सीमित हुने भएकी छन् । झरना थापाले ‘ए मेरो हजुर’को सिरिजलाई तत्काल रोकेर फिल्म ‘भागवद गीता’ बनाउँदैछिन् । यसमा सुहाना मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलवार धार्मिकस्थल जनकपुरधाममा फिल्मको अनाउन्समेन्ट टिजरको छायांकन भइरहेको छ । टिजरमार्फत् फिल्मको घोषणासँगै प्रदर्शन मिति सार्वजनिक गरिनेछ । माता र पिता फिल्मसँग जोडिएकाले अभिनेत्री सुहाना थापा फिल्मी माहोलमै हुर्किइन् । ठूूलो भएपछि अध्ययनको शिलशिलामा अमेरिका गएकी उनले अन्ततः परिवारकै विरासत सम्हालेकी छन् । आमा झरना थापाले निर्देशन र पिता सुनिल कुमारले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरिन् । उनलाई डेब्यू फिल्मले नै सफलताको उचाईमा पु¥यायो ।
डेब्यू फिल्मपछि उनलाई बाहिरी ब्यानरका फिल्महरुबाट पनि अफर आएका थिए । तर, उनले दोस्रो फिल्म पनि घरकै गर्ने निर्णय गरिन् । उनी अभिनीत दोस्रो फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ । फिल्मले राम्रो कमाई गर्नुका साथै उनको अभिनयको पनि प्रशंसा भइरहेको छ । यो फिल्म प्रदर्शनमा आइसकेपछि उनले बाहिरी ब्यानरको फिल्ममा काम गर्ने इच्छा देखाएकी थिइन् ।
सुहाना भन्छिन्, ’म भगवान् कृष्णको फ्यान’ फिल्मका लागि नायकको पनि टुंगो लागिसकेको छ । तर, टिजरमा सुहाना मात्र प्रस्तुत हुनेछिन् । नायकको नाम केही समयपछि सार्वजनिक गर्ने योजनामा निर्माण टिम छ । पहिला ‘भागवद गीता’मा अभिनेता अनमोल केसीको अभिनय रहने चर्चा थियो । तर, उनले लगातार एउटै प्रोडक्सन हाउसको फिल्ममा काम गर्न इच्छा नदेखाएपछि निर्माण टिमले अर्को नायकलाई भित्राएको हो ।
आउँदो साउन दोस्रो हप्ताबाट छायांकन सुरु हुने फिल्मको अनाउन्समेन्ट टिजर भने यसै हप्ता सुहानाको जन्मदिनमा सार्वजनिक गरिनेछ । फिल्मको नाम हिन्दू धर्मको महान् ग्रन्थबाट राखिएकाले टिजरलाई धार्मिक तीर्थस्थल जनकपुरधाममा खिचिएको हो । मंगलवार नै टिजरकोे छायांकन सकिनेछ । ‘ए मेरो हजुर’को सिरिज झैं ‘भागवद गीता’ पनि लभस्टोरी कथामा बन्ने बताइएको छ ।
यसैगरी,एक समय नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलको ठूलो रजगज थियो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । चकलेटी लुक्स र राम्रो अभिनय गर्ने क्षमताले पहिलो फिल्म ‘किस्मत’पछि उनले करिअर फर्केर हेर्नै परेन । उनी निरन्तर सफलताको सिढी चढ्दै गए । तर, केही वर्षयता उनको करिअर खासै सुखद् छैन । उनका पछिल्ला प्रायः फिल्म बक्सअफिसमा डिजास्टर छन् ।
२०७६ सालमा आर्यनका दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चचहुइँ’ रिलिज भएका थिए । यसपछि उनी काँचको पर्दामा देखिएका छैनन् । लकडाउनको समयमा उनले ‘डिसेम्बर फल्स’ र ‘मिरर’ गरी दुई फिल्म साइन गरे । ‘डिसेम्बर फल्स’को छायांकन अधुरैमा अड्किएको छ भने ‘मिरर’को छायांकन अन्योलमा छ । फिल्मको काम सुरु नहुँदा अचेल आर्यन म्यूजिक भिडियोमा व्यस्त छन् ।
कतिपयले फिल्मबाट अफर आउन छाडेपछि आर्यनले फुर्सदिलो भएर म्यूजिक भिडियोमा काम गर्न थालेको टिप्पणी गरिरहेका छन् । तर, आर्यन आफू पहिला पनि र अहिले पनि फुर्सदिलो रहेको बताउँछन् । उनी भन्छन्, ‘निखिल दाई र विराज दाईको दिनमै दुईटा सेड्युल चल्ने समयमा म वर्षमा २ वटा फिल्म गर्थे । म त्यो बेला पनि फुर्सदिलो, अहिले पनि फुर्सदिलो छु । र, म खुशी छु ।’
आफ्नो संघर्षको दिन एकदमै राम्रो रहेको पनि उनको भनाई छ । संघर्षको समयलाई जीवनको उज्यालोको रुपमा लिएका उनी भन्छन्, ‘अरु बाल्यकाल फर्कियोस् भन्छन् तर म मेरो संघर्षको समय फर्कियोस् भन्ने चाहन्छु । त्यो समय एकदमै सुन्दर थियो ।’ कोभिडपछि आफूलाई धेरै फिल्मबाट अफर आएको भए पनि इन्डस्ट्रीको माहोलले तत्काल फिल्म बन्न नसकेको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published.