फिल्म ‘दुई नम्बरी’को छायांकनमा ब्यस्त अभिनेत्री उपासना सिंह ठकुरी

काठमाडौं, २२ वैशाख । अभिनेत्री उपासना सिंह ठकुरी अहिले फिल्म ‘दुई नम्बरी’को छायांकनका लागि कास्कीमा छिन् । फिल्म ‘सत्यम’ छायांकनमा निस्कन ढिलाई भएपछि उनले गत चैतमा फिल्म ‘दुई नम्बरी’ साइन गरेकी थिइन् । अहिले उनी यो फिल्मको छायांकनका लागि कास्कीमा छिन् । फिल्ममा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । उनी सौगातको ठूलो फ्यान हुन् । अभिनेत्री वर्षा राउतले समय अभावका कारण फिल्ममा काम गर्न नसकेपछि उपासना रातारात फिल्ममा भित्रिएकी थिइन् ।
फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्मको सेटबाट उपासना भने उगेनको घनिष्ट साथी बनेकी छन् । उपासनाले इन्टाग्राममा पोस्ट गरेको उगेनसँगका तस्विरहरु हेर्दा उनीहरुबीच वर्षौं पुरानो साथीको जस्तो सम्बन्ध देखिन्छ । उगेनले नेपाली भाषा स्पष्ट बुझ्न र बोल्न सक्ने भएकाले पनि उनीहरु चाँडै एकअर्कासँग घुलमिल भएका हुन् ।
उगेनले पहिलो पटक नेपाली फिल्ममा अभिनय गरेकी हुन् । यद्यपि, उनी नेपाली फिल्मको नियमित दर्शक हुन् । उपासनासँगको मित्रताले उनलाई नेपाली फिल्मको माहोल र नेपाली समुदायको संस्कृति तथा रहनसहन बुझ्न थप सहज भएको छ । केही दिनअघि उपासनाले उगेनलाई नेपाली गीत गाउन आग्रह गर्दा उनले ‘फूलबुट्टे सारी’ गाएको भिडियो इन्स्टाग्राममा साझेदार गरेकी थिइन् । फिल्म ‘क्याप्टेन’बाट सानदार रुपमा उदाएकी अभिनेत्री उपासना सिंह ठकुरीलाई दोस्रो फिल्म ‘कबड्डी २’ले सफलताको उचाईंमा पु¥यायो । त्यसयता उनको नेपाली फिल्ममा उच्च माग छ । उनले कोभिडयता ‘डिसेम्बर फल्स’, ‘सत्यम’ र ‘दुई नम्बरी’ गरी तीन फिल्म साइन गरिन् । जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन मात्र बाँकी छ भने ‘सत्यम’को छायांकन अन्योल छ ।

यसैगरी,अभिनेता कार्म रंगमञ्च हुँदै फिल्ममा भित्रिएका हुन् । स्कूले जीवनदेखि नै उनी नाटकसँग नजिक थिए । स्कूलमा हुने नाटकमा उनी अनिवार्य अभिनय गर्थे । पछि गुरुकुलमा लामो समय नाटकमा काम गरेका उनलाई रंगमञ्चले नै फिल्मको हिरो बन्ने बाटो खोल्यो । फिल्म ‘सानो संसार’बाट अभिनेताको रुपमा सुखद् डेब्यू गरेका उनी फिल्ममा आएपछि पनि नाटकबाट टाढा हुन सकेका छैनन् ।
कोरोना महामारीभन्दा अगाडि ‘आर्ट’ नामक एक नाटकमा अभिनय गरेका उनी फिल्मभन्दा आफूलाई नाटकमै काम गर्न मनपर्ने बताउँछन् । एक भेटमा कार्मले भने– ‘तीन वर्षपछि मैले हालै ‘उलार’ नाटक हेरेको थिएँ । नाटक हेरेर निस्कने बेला मैले निहालेर मञ्चतर्फ हेरेँ । त्यसबेला मलाई चुम्बकले तानेको झैं भान भयो । मैले किन नाटकमा काम गरिरहेको छैन भन्ने प्रश्न मनमा उठ्यो ।’
नाटकप्रति आफ्नो बेग्लै लगाव रहेको र नाटकबाट टाढा बस्ने कुराको आफूले कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । ‘कतै फिल्मको छायांकन भइरहेको छ भने मलाई हेर्न पनि मन लाग्दैन । फिल्मको छायांकनले मलाई तान्दै तान्दैन,’ उनी अगाडि भन्छन्, ‘तर, कहिँ नाटक भइरहेको छ भने म हेर्छु । सायद थिएटरबाट आएका सबैलाई नाटकप्रति यो अट्याचमेन्ट हुन्छ होला ।’
उनी थिएटरमा जत्ति आफूले फिल्ममा मेहेनत नगरेको पनि सहर्ष स्वीकार गर्छन् । फिल्ममा चित्तबुझ्दो काम गर्न सकिएन भन्ने कुरा आफूलाई सधैं लाग्ने गरेको उनको आत्मबोध छ । उनी भन्छन्, ‘नाटक र फिल्ममा हामीले गर्ने अभिनय नै हो । तर, थिएटरमा नाटक गर्नुअघि रिहर्सलमा बसेर क्यारेक्टरलाई निचोड्न जसरी मेहेनत गर्छौं, त्यो चाहिँ मैले अहिलेसम्म फिल्ममा भेटाएको छैन ।’
रंगमञ्चको दाँजोमा फिल्ममा रिहर्सल नहुने गरेको उनको बुझाई छ । ‘म सधैं मेकरलाई भन्ने गर्छु कि थिएटरमा म महिनौं रिहर्सलमा मेहेनत गर्न सक्छु भने नाटकभन्दा सयौं गुण कमाई हुने फिल्ममा किन मेहेनत गर्न सक्दिनँ ? मलाई प्रयोग गर्नुस् भनेर बारम्बर भन्ने गर्छु । म दिनरात खटिन तयार छु भन्दा पनि वास्था गरिन्न । हामीले थिएटरमा जत्ति मेहेनत फिल्ममा गरेका नै छैनौं,’ उनी सुनिए ।
कार्म अभिनीत नयाँ फिल्म ‘षट्कोण’ यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । पछिल्लो समय फरक धारका फिल्ममा काम गर्दै आएका उनी आफूलाई घिसिपिटी लभस्टोरीभन्दा ‘षट्कोण’ जस्तो फिल्ममा काम गर्न मन लाग्ने बताउँछन् । यो फिल्ममा उनी एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् । फिल्मलाई लिएर उनी निकै उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published.