कांग्रेसभित्रको असन्तुष्टि अन्त्यका लागि प्रयास जारी

काठमाडौँ, २२ वैशाख । कांग्रेसभित्रको असन्तुष्टि अन्त्यका लागि सरलीकरणको काम भइरहेको नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले बताएका छन । नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टी अन्त्यका लागि कांग्रेस लागि परेको धारणा राखे । नेता भण्डारीले भने, “गठबन्धनलाई जिताउनु सबैको दायित्व हो । असन्तुष्टी मिलाउँदै जानुपर्छ ।” स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई सम्झाउन अझै समय बाँकी रहेको उल्लेख गर्दै उनले असन्तुष्टि बढेका स्थानमा सम्हाल्न केन्द्रदेखि जिल्ला तहसम्म लागि परेको बताए । “स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई महत्वका साथ हेरिएको छ”, उनले भने । राष्ट्रिय तहमा भएको गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्र्ने प्रयास भइरहेको भण्डारीको भनाइ थियो । लोकतान्त्रिक परिपाटीलाई प्रथामिकता दिँदै उपलब्धिको रक्षाका लागि सबै लाग्नु आवश्यक रहेको उनले बताए ।
पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पार्टीको केन्द्रीय निर्देशनको पालना गर्नुपर्ने बताए । “राजनीतिक जीवनमा केन्द्रको निर्णय मान्नुपर्छ”, उनले भने । टिकट बितरणको समयमा आफ्ना असन्तुष्टी रहे पनि केन्द्रको निर्णय आएपछि गठबन्धनको पक्षमा लाग्नुपर्ने गुरुङको भनाइ थियो ।
यसैगरी, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए ।
नेविसङ्घले प्रत्येक स्थानीय तहमा एक÷एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । नेविसङ्घले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयम्सेवकको रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उनले बताए ।
यसैबीच नेविसङ्घले काँग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन÷महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न सम्बद्ध सबैमा नेपाली काँग्रेसले आग्रह गरेको हो । साथै पार्टीले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.