आचारसंहिता विपरीत काम गर्ने निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसहित १० जनामाथि कारबाही

मकवानपुर, २२ वैशाख । निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अगाडि बढाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको हो । हेटौँडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ ।
निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गर्नेमा निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसमेत रहेको बताइएको छ । आचारसंहिता विपरीत जानेलाई लिखितरुपमा स्पष्टीकरण माग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकारी दिए ।
उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारबाहीका लागि पठाइने उनले जानकारी दिए । आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई निर्वाचनमा नखटाइने उनले बताए । यसै सम्बन्धमा निर्वाचन आचारसंहिता पालना गर्नका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आह्वानमा सोमबार सर्वपक्षीय बैठक बसेको थियो ।
बैठकमा सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उनले बताए ।
यसैगरी, भक्तपुर स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा यस्तो बताइएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उनले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताईन । उनले भनिन्, “जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीँ बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छाँै, सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ ।” महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरुको प्रचार सामग्री हटाएको बताए । जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताए ।
यस्तै,
निर्वाचन आयोगका अनुसार ६५ जिल्लामा एक करोड ३२ लाख बढी मतपत्र ढुवानी भइसकेका छन् । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अयाोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा यसपटक एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । मुलुकका छ हजार ७४३ वडामा पनि सँगसँगै निर्वाचन हुन्छ । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनका लागि एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी खटाइएको छ ।
निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिइसकेको छ । विभिन्न क्षेत्रमा आचारसंहिता विपरीतका गतिविधि दलबाट भइरहेको भन्दै आयोगले कतिपय उम्मेदवार र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

Leave a Reply

Your email address will not be published.