काठमाडौं, १३ वैशाख । छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग १८ देखि २४ बैशाखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुदैछ । गण्डकी प्रदेशले अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगसँगै पोखरामा अर्काे महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले १२ खेलाडी र ३ अफिसियलसहितको १५ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकीको कप्तानी हरि प्रसाद पाण्डेले गर्नेछन् ।कप्तान हरिसँगै, सुजन चोखाल, राजन दर्लामी मगर, सन्तोष थापामगर, घनश्याम चौधरी, किरण गुरौ, हिमाल सुनारी, प्रेम कुमाल, जीवन सुनार, रवि केसी, विवश आलेमगर र याम क्षेत्री रहेका छन् । किरण झन्डै एक वर्षपछि गण्डकीको टोलीमा फर्किएका हुन् ।उनी गत वर्ष नै गण्डकीबाट विभागीय टोली एपिएफमा पुगेका थिए । यसपटक भारतीय सेनामा कार्यरत याम क्षेत्रीले पुन गण्डकीकै प्रतिनिधित्व गर्नेछन् । विवश आलेले पहिलोपटक गण्डकीको टोलीमा स्थान बनाएका छन् । मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा युवराज भण्डारी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् ।संघले विज्ञप्ति जारी गर्दै यही एनभिए टोलीका उल्लेखित अधिकांश खेलाडीहरु नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागी हुने भएकाले एनभिए लिग पश्चात बन्द प्रशिक्षण थालिने संघका अध्यक्ष छ्याम बहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहनेछ ।
महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागीता रहनेछ । पुरुषतर्फको ७ टोली र महिलातर्फको ५ टोली क्लब च्याम्पियनसिपबाट छनोट भएको हो । विजेताले ६ लाख, उप विजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश भलिबल टोलीमा हरि प्रसाद पाण्डे (कप्तान), सुजन चोखाल, राजन दर्लामी मगर, सन्तोष थापा मगर, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, प्रेम कुमाल, जीवन सुनार, रवि केसी, विवश आले मगर र याम क्षेत्री, रमेश केसी (मुख्य प्रशिक्षक), युवराज भण्डारी (प्रशिक्षक र जीवन भण्डारी (टिम व्यवस्थापक) रहेका छन ।
यसैगरी, एसियाड सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् ।नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् ।एसियाडमा एथलेटिक्स खेलको पनि सहभागिता हुने हुँदा खेलाडीहरुको दक्षतालाई मध्यनजर गर्दै प्रारम्भिक छनौट प्रतियोगिता गर्नुपर्ने भएकोले काठमाडीको दशरग रंगशालामा २०७९ वैशाख १५ र १६ गतेका दिन छनौट गर्ने जानकारी गराइएको नेपाल एथलेटिक्स संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।छनोटमा सहभागिताका लागि एथलेटिक्स संघले चार मापदण्ड समेत तोकेको छ । जसमा १३औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, दक्षिण एशियाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरु, १३औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरु र म्याराथनको हकमा नेपालगन्ज, पोखरा र प्रधान सेनापति म्याराथनका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
छनोटमा ५ विधा समावेश गराइएको छ । जसमध्ये ८०० र १५०० मिटर इभेन्टमा पुरुषको मात्र समावेश छ । ५ हजार र १० हजार मिटर दौड र म्याराथनमा पुरुष र महिला दुवै विधा समावेश गरिएको छ ।यस्तै नेपाल बक्सिङ संघले एसियाडका लागि प्रारम्भिक खेलाडी छनोटका लागि आयोजना गर्न लागेको अधिराज्यव्यापी खुल्ला बक्सिङ प्रतियोगिताको दुई दिन पछि सरेको छ । यसअघि १२ देखि १५ वैशाखसम्म हुने भनिएको प्रतियोगिता अब १४ देखि १७ बैशाखसम्म सातदोबाटोमै हुनेछ ।
दुई सातापछि नै महिला बक्सरले टर्कीको इस्तानबुलमा आयोजना हुने आइवा वल्ड महिला बक्सिङ च्याम्पियनसिपका लागि जानुपर्ने भएकाले निश्चित तौल समूहमा मात्र एसियाडका लागि प्रारम्भिक छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।महिलातर्फ ४८ देखि ५१ केजीमुनि पहिलो र दोस्रो हुने दुई जना, ५४ देखि ५७ केजीमुनि पहिलो, दोस्रो र तेस्रो हुने मध्येको दुई मध्ये १ उत्कृष्ट, ५७ देखि ६० केजीमुनि पहिलो, दोस्रो र तेस्रो हुने २ मध्ये उत्कृष्ट १ जना गरी ३ जना र ६४ देखि ६९ केजीमुनि ४ जनालाई प्रारम्भिक छनोटमा राखिनेछ ।
पुरुषतर्फ ४९ देखि ५२ केजीमुनि ४ जना, ५२ देखि ५७ केजीमुनि४ जना, ५७ देखि ६३ केजीमुनि ४ जना र ६९ देखि ७५ केजीमुनि ४ जनालाई प्रारम्भिक प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
खेलाडीले यसअघि कुनैपनि अन्तरष्ट्रिय खेल खेलेको हुनुपर्ने, आठौं राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त हुनुपर्ने, संघले आयोजना गरेको कुनैपनि राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त र संघले भर्खरै आयोजना गरेको बागमती प्रदेश खेलकुद प्रतियोगितामा पहिलो भएको खेलाडी हुनुपर्ने प्रावधान राखेको छ । तर, यसभित्र नपरेका तर राष्ट्रलाई पदक दिाउन सक्ने प्रतिभावान खेलाडीले संघमा नाम टिपाउनु पर्ने उल्लेख गरिएको छ ।