फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं, १३ वैशाख । फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘मन्त्र’की अभिनेत्री दीया पुनले सगरमाथा आरोहणको तयारी गरिरहँदा समेत फिल्म ‘मन्त्र’को प्रचार गरेकी छन । फिल्मलाई दर्शकमाझ पु¥याउन कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । सिनेमा हलसम्म दर्शकहरुलाई आकर्षित गर्न फिल्मको प्रचारमा कलाकारको उपस्थिति र उनीहरुको ‘कन्भिन्सिङ पावर’ कति सशक्त छ भन्ने कुराले ठूलो अर्थ राख्छ । कलाकारको साथ विना फिल्मको प्रचार खासै प्रभावकारी हुन सक्दैन । तर, एकाध फिल्मले मात्र प्रचारमा कलाकारहरुको साथ पाउने गरेका छन् ।
प्रायः फिल्मका निर्माता÷निर्देशकले फिल्मको प्रचारमा कलाकारको साथ नपाएको गुनासो गरिरहँदा बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’की अभिनेत्री दीया पुनले भने सगरमाथा आरोहणको तयारी गरिरहँदा समेत प्रचारमा सघाउन छाडेकी छैनन् । गत चैतमा उनलाई काठमाडौंबाट निर्माण टिमले विदाई गर्दा नेपालको झन्डा र फिल्मको ब्यानर हस्तान्तरण गरेको थियो ।
शनिवार दीयाले सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्पमा राष्ट्रिय झन्डासँग जोडेर तयार पारिएको फिल्मको ब्यानर फहराएकी छन् । उनी सगरमाथाको चुचुरोमा पनि राष्ट्रिय झन्डा र फिल्मको ब्यानर फहराउँदैछिन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट विदाई हुँदा उनले डिजिटलदेखि विभिन्न माध्यमबाट फिल्मको प्रचार–प्रचारमा आफू जोडिने वाचा गरेकी थिइन् ।
खिल बहादुर गुरुङले निर्देशन गरेको यस फिल्ममा दीयाका अलावा सौगात मल्ल, बुद्धि तामाङ, नमिता तामाङ, पासाङ टी शेर्पा, वीरबहादुर लामा लगायतको पनि अभिनय छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । यो फिल्ममा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।
यसैगरी, अभिनेत्री मिथिला शर्मालाई २०७७ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री शर्मालाई पुरस्कार प्रदान गर्ने निर्माण गरेको हो । त्यस्तै, २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशी ५० हजार छ ।
वि.सं. २०५२ सालमा विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको ‘हरितारा चलचित्र पुरस्कार’ फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो । यसैगरी, परिवर्तन नेपालले २०७७ र २०७८ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी दश हजार छ ।

परिवर्तन नेपालले मदन घिमिरे, ज्ञानेन्द्र देउजा, श्रीदेव भट्टराई, मौनता श्रेष्ठ र राज कुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ र शारदा गिरी, जनक खकुरेल, देवेन्द्र पाण्डे, दिपाशा वि.सी, नन्दा बस्याल, मन्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई ‘परिवर्तन सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । परिवर्तन नेपालले निर्देशक स्वर्गीय चेतन कार्कीको स्मृतिमा पुरस्कार पनि स्थापना गरेको छ ।
स्थापना वर्षको पुरस्कार कलाकार देशभक्त खनाललाई प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । त्यस्तै, ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार तथा सम्मानको सिफारिस निर्देशक तथा कलाकार मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियको समितिले गरेको हो ।

Leave a Reply

Your email address will not be published.