कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ६ जना घाइते


काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ । सोमबार बलरा नगरपालिका–८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।
कांग्रेसको एउटा समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदानस्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी सहायक निरीक्षक अरुणकुमार यादव, प्रहरी हवल्दारद्वय अवधेशप्रसाद यादव र राजेश चौधरी तथा प्रहरी जवान रामानन्द यादव घाइते भएका छन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।
गम्भीर घाइते निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरीक्षक यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पताल मलङ्गवा र सर्लाहीमा उपचार भइरहेको छ । झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ ।
यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको दुई समूहबीच झडप भएको थियो । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाका दुई सय वडामध्ये आइतबार १६० भन्दा बढी वडामा सहमतिबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडामा सोमबार मतदान प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताए । जिल्लामा सदस्यता सम्बन्धी विवाद रहेको छ ।
यसैगरी, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पोखरामा सोमबार एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए ।
पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उनले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पारे ।
नेपाली कांग्रेस कास्कीको २०४६ देखि २०६१ सालसम्म पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *