एमाले महाधिवेशनमा ३०१ पदमा ३३३ को उम्मेदवारी, वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध निर्वाचित


चितवन, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा ३०१ पदमा ३३३ को उम्मेदवारी परेको छ । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सोमबार निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । केन्द्रीय पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उनिहरुबीच प्रतिस्पर्धा हुने भएको छ । ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए ।
केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला ६जना आवश्यक भएकोमा ९जना को उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला ६ मा ६ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ ६ जना केन्द्रीय सदस्यमा ८जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको सुब्बाले जानकारी दिए ।
गण्डकी प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यमा ६ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यमा ६ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यतर्फ ६ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ ।
सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा १ जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ ।
समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताए । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा ६ महिला केन्द्रीय सदस्यमा ६ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ ।
त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा ६ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा छ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको अध्यक्ष सुब्बाले जानकारी दिए ।
पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताए ।
नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको सुब्बाले बताए । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिएका छन ।
केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावालीको छानविन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि आन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
उनले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान सोमबार रातिसम्ममा सुरु हुनसक्ने बताएका छन । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नैपर्ने उनले जनाए ।¬¬¬
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए । उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका थिए । तरपनि सर्वसम्मत सहमति हुन नसकेपछि मतदान हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *