आँचल दम्पतीले सामाजिक सञ्जालमा तस्विर पोस्ट नगरेको दिन छैन

काठमाडौँ, १३ मंसिर । अभिनेत्री आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच विवाहको दिनदेखि सामाजिक सञ्जालमा एकअर्काको तस्विर पोस्ट नगरेको सम्भवतः कुनै दिन छैन । उनीहरुले विवाह गरेको आउँदो फागुनमा दुई वर्ष हुदैछ ।
अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको फिल्म ‘ब्ल्याक’ मा एक गीत छ, ‘तिम्रो लागि तड्प्यो मुटु ए माया, तिम्रै लागि धड्क्यो मुटु ए माया ।’ गीतले आँचल र आकाशको प्रेम भाव बोल्छ । गीतमा आकाशले आँचल विना आफू न हाँस्न सक्ने न मर्न सक्ने बताएका छन् । रियल लाइफमा भने आँचलप्रति डा. उदिप श्रेष्ठको प्रेम आशक्ति गीतको भावभन्दा कम छैन ।
कोरोना महामारीले नेपाललाई आफ्नो परिबन्दमा पार्ने तयारी गरिरहँदा आँचल र उदिपले अग्नीलाई साक्षी राखेर सातै जुनी साथ दिने कमस खाए । तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउनु उनीहरुका लागि ठूलो सफलता र खुसी थियो । कोरोनाका कारण फिल्म र म्यूजिक भिडियोको काम ठप्प हुँदा आँचलले श्रीमानसँग सम्झनलायक दिनहरु विताउने मौका पाइन् ।
कामको शिलशिलामा एक दिन मात्र छुटिएर बस्नु परे उनीहरु सामाजिक सञ्जालमै प्रेम पोख्न थाल्छन् । तर, यो जोडीको प्रेम अफेयरमा रहँदाको भन्दा कम छैन । उनीहरुको माया देखेर जिल्नेहरु धेरै छन् ।
यतिबेला विवाहको सिजन छ । आँचल र उदिपलाई पनि आफन्तको विवाह र रिसेप्सन पार्टीमा जान राम्रै दौडधुप छ । यसैक्रममा, शनिवार उदिपले इन्स्टा स्टोरीमा एक भिडियो राखेका छन्, जसमा उनको हातमा आँचलको नामको मेहन्दी देख्न सकिन्छ । उक्त भिडियो आँचलले पनि इन्टामा शेयर गर्दै लेखेकी छन्, ‘यू आर सो सो क्यूट ।’ भिडियोमा दुवैले एकअर्काको हात समातेका छन् ।
विशेषगरी युवतीहरुले बिहेको अघिल्लो दिन हुनेवाला श्रीमानको नाम लेख्दै हातमा मेहन्दी लगाउने गरेका छन् । हातमा लगाएको मेहन्दीको रंग गाढा भयो भने माया पनि गाढा हुन्छ भन्ने मान्यता छ । उदिपले भने आफ्नो हातमा मेहन्दीले श्रीमतीको नाम लेखेका छन् । उनको हातमा मेहन्दीको रंग पनि गाढै देखिन्छ ।
यसैगरी, एक समय एक्सन भूमिकामा निकै जमेका नायक हुन्, विराज भट्ट र रमित ढुंगाना । करिअरको सुरुवात नै एकै समयमा भएकाले उनीहरुले एकसाथ फिल्ममा काम गर्ने अवसर पनि पाए । ‘देवर बाबु, दुर्गा, ट्याक्सी ड्राइभर, हिम्मत’ लगायत उनीहरुका सफल फिल्म हुन् । करिअरको उत्कर्षमा रहँदा समेत एकअर्कासँग राम्रो सम्बन्ध रहेका उनीहरुबीच अहिले पनि उस्तै राम्रो सम्बन्ध छ ।
काठमाडौंमा रहँदा विराज र रमितबीच प्रायः भेटघाट भइरहेको हुन्छ । दुवैको एकअर्काको परिवारसँग पनि उतिक्कै राम्रो सम्बन्ध रहेको बताइन्छ । तर, विगत एक दशकभन्दा लामो समयदेखि उनीहरुलाई दर्शकले एकसाथ ठूलो पर्दामा हेर्न पाएका छैनन् । पछिल्लो समय विराज नेपालीभन्दा भोजपुरी फिल्ममा बढी व्यस्त छन् भने रमितले त फिल्ममा काम नगरेकै वर्षौ भइसकेको छ ।
दर्शकहरुले विराज र रमितलाई फेरि फिल्ममा हेर्ने इच्छा व्यक्त गरिरहेको अवस्थामा शुक्रवार इटहरी (सुनसरी) मा उनीहरुको जम्काभेट भएको छ । दुई हप्तादेखि एक भोजपुरी फिल्मको छायांकनका लागि नेपालमा रहेका विराजसँग रमित र उनका दाई तथा नायक राजेश ढुंगानाको भेट भएको हो । उनीहरु तिनै जनाले सुपरहिट फिल्म ‘जीवनदाता’ मा एकसाथ काम गरेका थिए ।
विराज र राजेशको काँधमाथि हात राखेको तस्विर फेसबुकमा पोस्ट गर्दै रमितले क्याप्सनमा ‘जीवनदाता’ लेखेका छन् । यो भेटले उनीहरुलाई फिल्ममा सँगै काम गर्दाको क्षण स्मरण गराएको हुनसक्छ । रमितको फेसबुक पोस्टमा प्रायःले ‘जीवनदाता २’ लिएर आउन आग्रह गरेका छन् । उक्त भेटमा उनीहरुबीच फेरि फिल्ममा सहकार्य गर्ने विषयमा कुरा पनि भएको जानकारी प्राप्त छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *