माओवादी पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनमा अधिकांश स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन ।
खोटाङका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका÷नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
यसैगरी, ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आइतबारसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

यस्तै, पाँचथरका चार वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।
जिल्लाको फालेलुङ, याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिवेशनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो ।
उता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत बागलुङका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनबाट जिल्लाका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
नेकपा (माओवादी केन्द्र)को म्याग्दीका पाँच वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मङ्गला, रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा शनिबार भएको प्रथम अधिवेशनबाट निर्विरोध नेतृत्व चयन भएको हो ।
नेकपा (माओवादी केन्द्र)ले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । शनिबार सुरु भएको पालिका अधिवेशनअन्तर्गत जिल्लाको दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए । सम्मेलनबाट दुवै स्थानीय तहमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको हो ।
नेकपा (माओवादी केन्द्र)ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेको छ भने केही पालिकामा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *