एमाले महाधिवेशनमा सहमतिको प्रयास असफल, अध्यक्षमा रावल, उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको उम्मेदवारी

चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिको प्रयास असफल भएको छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ । अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि प्रयास भएता पनि अन्तत मतदान हुनेभएको छ । अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।
सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए । महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ । रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् ।
यसैगरी, चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव पदमा भुसाल र सचिवमा विजयी आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन ।
आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका थिए । यसैगरी उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ प्रस्तावित छन् ।
महासचिवमा शंकर पोखरेललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ओलीले प्रस्ताव गरेका छन् ।
सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।
सोमबार बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र साँझ ८ बजे सुरु भएको थियो । बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *