प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगितामा गुरुङलाई स्वर्ण


नेपालगन्ज, ५ मंसिर । नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
पुरुष ४८ केजीमा आर्मीका सुशिल थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउदै स्वर्ण जिते ।
विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व मन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रत्येक स्पर्धाका विजेतालाई ५ सय युरो, उपविजेतालाई ३ सय युरो र तेश्रोलाई २–२ सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् ।
यसैगरी,सातौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपिएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेताद्वय किरण र सन्तोषीले नेपालगन्जमा उपाधि जितेका हुन् । किरणले निर्धाति दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेकी थिइन् । १३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै च्याम्पियन बने । १३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
दोस्रो बनेका नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेन्डमा पुरा गर्दै तेस्रो बने । आर्मीका खडक बहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेन्डमा पूरा गर्दै चौथो बनेका थिए । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए ।
गतवर्ष पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी थिइन् । साविक विजेता पुष्प भण्डारीले १ घण्टा १९ मिनेट १८ सकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा पूरा गरेकी थिइन् । कन्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहपुरकी पुष्पा खड्का सातौं स्थानमा रहिन् ।
म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *