‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक


काठमाडौं, ५ मंसिर । आगामी पुस २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
अर्जुन कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् ।
यसैगरी, फिल्म ‘छिरिङ’ बाट निर्देशकिय यात्रा सुरु गरेका गायक यश कुमारले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । बिहीवार नायक पल शाहले करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए । निर्माण टिमले फिल्ममा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । प्राप्त जानकारी अनुसार, उक्त फिल्मलाई यश कुमारले निर्देशन गर्नेछन् ।
अहिलेसम्म फिल्ममा पलबाहेक अरु कलाकार फाइनल भएका छैनन् । निर्माता सिंहका अनुसार, फिल्मका लागि नायिकासँगै अन्य कलाकारको छनोट कार्य भइरहेको छ । फिल्ममा मुख्य नायिकाका लागि अहिले निर्माण टिमले दुई नायिका उपासना सिंह ठकुरी र मलिका महतसँग कुराकानी गरिरहेको जानकारी प्राप्त छ । स्रोतका अनुसार, उपासना फिल्म गर्न सकारात्मक देखिएकी छन् ।
आर.के.एस. इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने फिल्मको कथा सिंहकै छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ । फिल्मको नाम केही दिनमा एक कार्यक्रमका बीच सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । गायक हुँदै नायक बनेका यशले ‘वीर, बाटो मुनिको फूल, आधी बाटो’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । तर, ‘बाटो मुनिको फूल’ बाहेक उनका फिल्म सफल छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *