महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल


काठमाडौँ, ५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा शनिबार भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो । केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए । महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए । महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
यसैगरी, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित भएका छन । त्यस्तै उपसभापतिमा जगदीश राना र पे्रमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित भएका छन ।
यसैरी निर्वाचन क्षेत्र नं १ को (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित भएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ को (क) को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मिनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित भएका छन भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित भएका छन भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।
यस्तै, नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ ।
बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएकाले मतदानबाट नै नेतृत्व टुङ्गो लाग्ने निर्वाचन समितिले जनाएको छ ।
यही मङ्सिर ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १० गतेका लागि तोकिएको जिल्ला अधिवेशनको तयारी पनि तीव्र रुपमा भइरहेको छ । जिल्ला सभापतिमा महाधिवेशन प्रतिनिधि जित्नुपर्ने बाध्यात्मक वैधानिक व्यवस्था भएकाले उम्मेदवारको टुङ्गो हालसम्म लाग्न सकेको छैन ।
बागलुङका क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यमा युवाको वर्चश्व कायम हुने पक्कापक्की छ । दुई प्यानलमा विभाजन भएका कार्यकतामध्ये उम्मेदवारी दिने अधिकांश युवा छन् । पाको पुस्ताका केही नेता मात्रै महाधिवेशन दौडमा छन् । “हामी युवा अब राजनीतिका लागि योग्य भयौँ र त उम्मेदवारी दिएका छौँ”, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका दिनेश सापकोटाले भने, “पार्टी पुनःनिर्माण आवश्यक छ, जसका लागि युवा नेतृत्व अपरिहार्य छ ।” उनले पार्टी पुनःनिर्माण प्रस्ताव तथा प्रबुद्ध समाजवादको घोषणापत्र नै तयार गरेर पार्टीको महाधिवेशनमा लागेका छन ।
नेपाल विद्यार्थी सङ्घका नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी अहिले पनि महाधिवेशन प्रतिनिधिको दौडमा छन । युवाको नेतृत्व स्थापित गराउन लागि परेका सुवेदीले बागलुङका सबै वडामा युवालाई नेतृत्व पङ्क्तिमा ल्याउन सफल भएको दाबी गरे । “जिल्ला, प्रदेश र केन्द्रसम्म नै युवाको हातमा नेतृत्व ल्याउनका लागि अहिले प्रतिनिधि छनोटमा ध्यान पु¥याउनुपर्छ”, उनले भने, “हामीले प्यानलकै कुरा गर्दा पनि युवाको सहभागिता उत्साहजनक छ ।”
प्रदेश क्षेत्रीय सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको सदस्यका लागि धेरै युवाले आकाङ्क्षा देखाएका छन् । “५० प्रतिशतभन्दा धेरै युवा उम्मेदवार छन्, त्यो पनि ४० वर्ष नकटेका छन्”, नेविसङ्घका नेता तथा महाधिवेशन प्रतिनिधिका प्रत्यासी विष्णुप्रसाद शर्मा ‘दारी’ले भने, “समावेशीमा पनि युवा नै धेरै छन् ।” महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षा राखेकामध्ये अधिकांश युवाले चुनाव जित्ने उनले दाबी गरे ।
बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रमा युवा उम्मेदवार रहेको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुने युवाको सङ्ख्या उल्लेख्य रहेकोछ ।
उता, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खोटाङका प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।
हलेसीमा शनिबार सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन । त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित भएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ को (ख) को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा प्रविण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन ।
काँग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरु सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । जिल्ला सभापतिमा चारजना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वराज्यमन्त्री सर्वद्धन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *