आगामी निर्वाचनमा माओवादीले जित हासिल गर्ने दाबी, अध्यक्ष प्रचण्ड र विप्लवबीच पार्टी एकतामा जाने समझदारी


काठमाडौँ, ५ मंसिर । विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दाबी गरेका छन । रौतहटको कटहरिया बजारमा नेकपा (माओवादी केन्द्र)ले शनिबार आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकीर गरेका हुन । “रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो”, उनले भने, “केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।” दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उनले स्मरण गराए ।
परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलीदान दिएर परिवर्तनका लागि योगादान गरेको स्मरण गरे । उनले भने, “खलनायक, प्रतिक्रिवादीहरू मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलनपश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागेका छन्, सचेत हुनुहोला ।” किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत अध्यक्ष प्रचण्डले दिएका छन । रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने उहाँले जानकारी दिए ।
उखु किसानको समस्यालाई समाधान गर्न आफूले काठमाडौँमा पुगेर पहल गर्ने विश्वाससमेत दिलाउँदै अध्यक्ष प्रचण्डले शिवनगरमा विद्युत्को शाखा निर्माण गर्ने बताए । मुस्लिम समुदायको मागअनुसार शक्तिशाली मुस्लिम आयोग गठन र इस्लामिक विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने बताए । कटहरिया नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषि विकास बैंकको शाखा स्थापना गराउन आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले आश्वासन दिए ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति रौतहटका सभापति एवं पूर्व सभासद देवेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रौतहट इन्चार्ज समिर भट्टराई, पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वसभासद गोपाल ठाकुर, मुस्लिम अध्यक्ष ओहिद अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए । ‘छलफलमा प्रचण्ड, विप्लव र महरा कमरेड मात्र बस्नु भएको थियो, दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भयो,’ स्रोतले भन्यो । स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरूबीच भएको छ ।’
यसैबीच,
नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभरका ६ हजार ७४३ वटा वडामा सम्मेलन आयोजना गरेको छ । काठमाडौँ उपत्यकाकाका काठमाडौँ, ललितपुर र भक्तपुरका सबै वडामा सम्मेलन सम्पन्न गरिएको हो । यसैक्रममा ललितपुरका महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकासहित बागमती, महाकाँल र कोञ्ज्योसोम गाउँपालिकाका सबै वडामा अभिवेशन सम्पन्न भएको छ । ललितपुर जिल्लामा ७१ वडा छन् । सबै वडामा पार्टीको अधिवेशन सम्पन्न भएको ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए ।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसालले शनिबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडामा पुगी सम्मेलनको उद्घाटन गरिन । उनले महानगरपालिकाका वडा नं २, १४, १५, २३ र २९ तथा गोदावरीको वडा नं १४ र वडा नं ३ को सम्मेलन उद्घाटन गरिन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेकी माओवादी केन्द्रका नेत्री भुसालले माओवादी केन्द्रले उठाएका मुद्दाहरु राष्ट्रिय मुद्दाका रूपमा स्थापित भई संविधानमा समेटिएको उल्लेख गर्दै जनताको सच्चा साथी माओवादी केन्द्र नै भएको दाबी गरिन ।
माओवादी बलियो नहुँदासम्म आधारभूत जनताले अधिकार स्थापित नहुने उल्लेख गर्दै उनले भने, “जनताको अधिकार रक्षा गर्नका लागि माओवादी पार्टी विसं २०६४ मा जस्तै एक नम्बरको पार्टी बन्छ ।” मन्त्री भुसालले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलन माओवादीले नै गरेको अब समाजवादसम्म पुग्ने आन्दोलनको नेतृत्व पनि ‘प्रचण्ड’ नेतृत्वको पार्टीले गर्ने बताए ।
सम्मेलनका क्रममा पार्टीका केन्द्रीय सदस्य अमृता थापाले जनताको पार्टी माओवादीबाहेक अरु हुन नसक्ने जिकिर गर्दै फेरि जनताको घरदैलोमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिईन । कार्यक्रममा अर्का केन्द्र्रीय सदस्य हरि दाहालले जनताको आधिकार स्थापित गर्न सफल माओवादी पार्टीलाई आगामी निर्वाचनमा जनताको अपार मत प्राप्त हुने विश्वास व्यक्त गरे ।
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभएमात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको जानकारी दिएका छन ।
उता, नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व शनिबार देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिनभित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिए । उनका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहेको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा सूर्य महतको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको छ ।
सचिवमा विवेक जिसी रहेका छन । वडा नंद ४ मा बिजुली केसी अध्यक्ष र शिव शर्मा सचिव रहेको २१ सदस्यीय वडा कमिटी चयन भएको छ । त्यसैगरी वडा नं ६ मा भवानीशङ्कर सापकोटाको अध्यक्षतामा २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको जनाइएको छ ।
सो वडाको सचिवमा शान्ता नेपाली रहेकी छिन । वडा नं ५ मा टेकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय, ८ मा टोपबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय र ९ मा टीकाराम पौडेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको छ ।
यस्तै वडा नं १३ पैँयूपाटामा रेशम केसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष केसीले बताए । उक्त कमिटीको सचिवमा भीमप्रसाद रेग्मी रहेका छन । वडा नं १२ अमलाचौरमा परमानन्द शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन भएको छ । सचिवमा दुर्गा विक रहेका छन ।
पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताए । व्यवस्थापकीय तयारी नपुगेका कारण शनिबार हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उनको भनाइ छ । जिल्लामा ८५ वडा छन् । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *