नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत

काठमाडौँ, ३० कात्तिक । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार २७० जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ । सोमबार थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १३६ जना रहेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् ।
यसैगरी, गण्डकी प्रदेशमा सोमबार ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ६९ वर्षीय पुरुष रहेको उनले जानकारी दिए । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ३२७ जना रहेको र होम आइसोलेशनमा २९२ जना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *