फिल्म ‘डाँडाको वर पीपल’ तिहारबाट ओटीटी प्लेटफर्ममा रिलिज हुँदै


काठमाडौं, ११ कात्तिक । सिनेमा घरमा दर्शकको साथ पाउन नसकेको फिल्म ‘डाँडाको वर पीपल’ नजिकिँदै गरेको तिहारमा भने ओटीटी प्लेटफर्ममा रिलिज गरिँदैछ । यही बिहीवारबाट डिसहोमको च्यानल नम्बर ८८८ मा र लक्ष्मीपुजाबाट ओटीटीमा फिल्म रिलिज हुने बुढासुब्बाका सञ्चालक तथा फिल्मका निर्माता नवराज गिरीले जानकारी दिए ।
फिल्म प्रदर्शनका लागि दशैं सबैभन्दा उपयुक्त समय मानिन्छ । दशैंको विदामा फिल्मले राम्रो कमाई गर्ने गरेका छन् । कोरोना महामारीअघि दशैंमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथान हुन्थ्यो । तर, कोरोनाका कारण अघिल्लो र यसपटकको दशैंमा हल सुनसान रहे । अघिल्लो वर्षको दशैंमा हल नखुल्दा फिल्मै रिलिज भएनन् । यो पटक फिल्म लाग्दा पनि हलमा दर्शक आएनन् ।
यसपालीको दशैंमा कुनै ठूला फिल्म नआउने भएपछि ओटीटी प्लेटफर्मका लागि निर्माण गरिएको फिल्म ‘डाँडाको वर पीपल’ लाई फूलपातीमा रिलिज गरियो । शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत जस्ता चलेका कलाकारको अभिनय रहेको फिल्मले कोरोनाका कारण सुस्ताएको फिल्म क्षेत्रलाई चलायमान बनाउने धेरैको अपेक्षा थियो । तर, ‘महानायक’ विवादले फिल्म डुब्यो ।
निर्देशक शोभित बस्नेतले फिल्मलाई चर्चामा ल्याउन ‘महानायक’ विवाद झिकेका थिए । फिल्म रिलिजको संघारमा उनले राजेश हमाल नभइ भुवन केसी मात्र ‘महानायक’ पदवीको हकदार रहेको बताएपछि दर्शकले फिल्म बहिस्कार गर्ने कुरा उठाए । नभन्दै फिल्मले हलमा पानीसम्म भन्न पाएन । प्रदर्शनको पहिलो हप्ताबाटै काठमाडौं र मोफसलका हलहरुले फिल्म हटाइसकेका छन् । फिल्ममा रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेतको पनि अभिनय छ ।
यसैगरी, गायिका समीक्षा अधिकारीसँग नाम जोडेर मिडियामा विभिन्न खाले गसिप बनेपछि अभिनेता पल शाहले आपत्ति जनाएका छन् । सोमवार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मिडियामा आएका गलत समाचारले आफू दुखी भएको र समीक्षासँगको मित्रता र सहकार्यलाई अनेक शिर्षक दिएर सिंगो पत्रकारितालाई बदनाम गर्ने र आफूहरुको चरित्रहत्या हुने कार्य नगर्न आग्रह गरेका छन् ।
समिक्षा अधिकारीसँग सांगीतिक सहकार्य मात्र रहेको उल्लेख गर्दै पलले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति र समूह कहिँ न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’
पल शाह अगाडि लेख्छन्, ‘हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाउनुहुन मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले दर्शक स्रोता र मिडियालाई आफूले परिवार मानेको र यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा आज आफू यो स्थानसम्म आइपुगेको बताएका छन् । आफूले जानेर नजानेर कसैको चित्त दुखाएको भए पनि उनले उक्त पोस्टमार्फत माफी मागेका छन् । आइतवार समीक्षाले पनि फेसबुकमार्फत् पल शाहसँग अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *