संसदमा जारी नराबाजी रोक्न एमालेलाई आग्रह

काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा बिहीबार पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउने काममा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालभर देखिएका असरहरु, जनजीविका र जनसरोकारका विषयवस्तु सदनमा प्रस्तुत हुन नसकेको भन्दै प्रतिपक्षी दल एमालेका सांसदलाई गम्भीर बन्न आग्रह गरेका थिए ।
सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरे । सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरे । तर, एमालेले नाराबाजी कायमै राख्यो ।
२३ साउन २०७८ बाट शुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ ।
प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत ग¥यो ।
एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाउँदै आएका छन् । एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *