मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित


काठमाडौं, ७ कात्तिक । ताजिकिस्तानमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली शुक्रबार इन्डोनेसिया यू २३ सँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम रहेको नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा भने गोलको सामना गरेको थियो ।
इन्डोनेसियाका लागि हसिन सागधराले ५५ औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि इन्डोनेसियाले २–० को जित हासिल गरेको थियो । एसियन कप छनोटमा नेपाल एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तानको समूहमा रहेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।
नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।
यसैगरी, मोरङको डागिहाट युथ क्लबको आयोजनामा अर्को साताबाट चौथो अन्तर्राष्ट्रिय आमान्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । बुद्ध एयरको मुख्य प्रायोजनमा कात्तिक ११ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
लक्ष्मीमार्ग रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभजिन टोली च्यासल युथ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुने आयोजकले जनाएको छ । त्यो समूहमा अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लब र उदपुरको गाइघाट फुटबल क्लब रहेको छ । त्यस्तै अर्को समूहमा ए डिभिजन टोली समेत रहेको एपिएफ क्लब, भारत पश्चिम बंगालको आमुक्त परिवार, रारा फुटबल क्लब र आयोजक डागिहाट युथ क्लब रहेका छन् ।
टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।
कात्तिक १७ गते हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *