प्रेमकथामा आधारित नयाँ फिल्ममा पनि सलोन र रुविना


काठमाडौं, ७ कात्तिक । बुढासुब्बा डिजिटलले अर्को नयाँ फिल्म बनाउने भएको छ । तिहारपछि छायांकनमा जाने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । शोभित बस्नेत लाई निर्देशकमा लिएर नयाँ फिल्म बन्न लागेको हो । निर्देशक बस्नेत नयाँ फिल्ममा पनि सलोन बस्नेत र रुविना थापालाई नै दोहो¥याउने सोचमा छन् । उनले भने, ‘कलाकार फाइनल भइसकेका छैनन् तर अहिलेसम्म मेरो दिमागमा सलोन र रुविनाको अनुहार आएको छ । गौरी मल्ल र राजिवजंग बस्नेतको पनि अभिनय रहन सक्छ । केही दिनमा फिल्मको नामसँगै कलाकारको पनि टुंगो लगाउने छौं ।’ फिल्म प्रेमकथामा आधारित हुनेछ ।
सलोन र रुविनाले ‘डाँडाको बर पीपल’ मा प्रेम जोडी भएर काम गरेका थिए । यो फिल्ममा रुविनाको कामबाट प्रभावित भएर शोभितले नयाँ फिल्ममा पनि उनलाई लिने सोच बनाएका हुन् । फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको बरपीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् ।
बस्नेत निर्देशित मल्टीस्टारर फिल्म ‘डाँडाको बर पीपल’ यतिबेला सिनेमा घरमा दोस्रो हप्तामा प्रदर्शनरत छ । तर, फिल्मले दर्शकको गतिलो साथ पाउन सकेको छैन । जिब्रो नचपाइ भन्ने हो भने फिल्म पत्तासाफ भइसकेको छ । तर, फिल्म नचलेकोमा निर्मातालाई कुनै चिन्ता छैन । किनकि, यो फिल्म सिनेमा हलका लागि नभइ डिजिटल प्लेटफर्ममा रिलिज गर्न बनाइएको थियो ।
दशैंमा फिल्म रिलिज गर्न कोही निर्माता तयार नहुनु र चलचित्र विकास बोर्डले तत्काल रिलिज हुने फिल्मलाई राहत दिने घोषणा गरेपछि ‘डाँडाको बरपीपल’ लाई हलमा रिलिज गर्ने निर्णय गरिएको थियो । यो फिल्मलाई हलमा रिलिज गर्न निर्माताको एक रुपैयाँ पनि खर्च भएको छैन । बरु, उल्टै केही लाख फाइदा भएको छ । यही तिहारमा फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ ।
फिल्म रिलिजको समयमा शोभितले ‘महानायक’ विवाद झिकेपछि बुढासुब्बा डिजिटलका सञ्चालक तथा फिल्मका निर्माता नवराज गिरी उनीसँग रुष्ट थिए । अब उनीहरुबीच कहिल्यै सहकार्य नहुने चर्चा नचलेको पनि होइन ।
यसैगरी, डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरेकी युना उप्रेती त्यसपछि करीब ७ वर्षसम्म अभिनयमै सक्रिय रहिन् । पहिलो फिल्मको सफलतापछि उनलाई फिल्मको कमी नै भएन । यो बीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइन् ।
तर, ‘पर्खि बसेँ’ र ‘हिम्मत २’ पछिका फिल्मले उनलाई सफलताको सुख दिन सकेन । जसले गर्दा उनी आफ्नो प्रोफेसन बदल्ने निर्णयमा पुगिन् र २०१४ ताका एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिका उडिन् । यसको केही समयमा उनले अमेरिकामै बसोबास गर्ने विकास अधिकारीसँग लगनगाँठो कसिन् । त्यसबेलादेखि उनले आफ्नो फिल्मी करिअरको किताब खोलेकी छैनन् ।
२०१८ मा छोरी (साइरा) लाई जन्म दिएकी युना लामो समयको अन्तरालपछि दशैं मनाउने गरी नेपाल आएकी छन् । उनी आउँदो डिसेम्बरसम्म नेपालमै बस्ने योजनामा छिन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फिल्ममा फर्किने इच्छा व्यक्त गरेकी छन् । आफू डिसेम्बरसम्म नेपाल बस्ने र यो बीचमा फिल्मबाट प्रस्ताव आएको अवस्थामा काम गर्ने उनको भनाई छ ।
उनले एक अन्तर्वार्तामा ‘पर्खी बसेँ’ मा आफू जोडिनुको किस्सा पनि सुनाएकी छन् । उनले भनेकी छन्, ‘खासमा मैले फिल्म ‘कुशुमे रुमाल २’ का लागि भनेर आफ्नो फोटोसहितको डकुमेन्ट बुझाएको थिएँ । तर, त्यो फिल्म तत्काल नबन्ने भएपछि मेरो डकुमेन्ट्री गोपीकृष्ण मुभिजले बनाउने अर्को फिल्म (पर्खि बसेँ) का लागि पुग्यो । यो फिल्ममा म अडिसनबाट पास भएर भित्रिएको थिएँ ।’
गोपीकृष्ण मुभिजले डेढ दशकपछि ‘पर्खि बसेँ’ को नाम सापटी लिँदै सिक्वेल निर्माण गर्दैछ । फिल्मको अफर पल शाहदेखि मलिका महतसम्मलाई पुगेको छ । यतिबेला युना पनि लामो छुट्टी लिएर अमेरिकाबाट नेपाल आएकी छन् । यो फिल्मबाट अफर आएको खण्डमा र भूमिका मन परे आफू गेस्ट अपिरियन्स (अतिथी भूमिका) का लागि पनि तयार रहेको उनले बताएकी छन् ।
धेरै कमलाई थाहा हुनसक्छ युना गायिका पनि हुन् । उनले आफू अभिनीत फिल्म ‘हिम्मत २’ को ‘म तिमीलाई माया गर्छु’ गीतमा आवाज दिएकी छन् । तर, अमेरिका बस्न थालेपछि उनले अभिनयसँँगै गायनलाई निरन्तरता दिन सकेकी छैनन् । केही समयदेखि उनको नयाँ गीत रेकर्ड गर्ने विषयमा कुराकानी भइरहेको छ । उनी आफ्नो आवाजमा चाँडै नयाँ गीत रेकर्ड हुनेमा विश्वस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *