नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत

 


काठमाडौँ, ७ कात्तिक । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ । शनिबार थप ८१७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ८६ हजार ६८० पुगेको छ । देशभर शनिबार थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९३ हजार ९८० छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ६३ हजार ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, शनिबार प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रममण पुष्टि भएको छ ।
सङ्क्रमितमा पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय तहअनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा दुई, बूढीगङ्गा र ग्रामथानमा एक÷एक सुनसरीको इटहरीमा १४, धरानमा नौ, झापाकोे विर्तामोड र मेचीनगरमा दुई÷दुई, दमकमा एक, उदयपुरको बेलका र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ६२ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नुवाकोटमा शनिबार कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो चौबिस घण्टामा नयाँ सङ्क्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन÷तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *