लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध हुन आग्रह

काठमाडौँ, ७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन । कञ्चनपुरको बेलौरीमा शनिबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ । वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गरेका छन । उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गरेका छन । उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए । उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका छन । पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए । उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको आँैल्याए । बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए ।
यसैगरी, वरिष्ठ नेता पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताएका छन । उनले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कांग्रेस कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताए ।
सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उनले बताए ।
यस्तै, नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताएका छन ।
यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उनले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन ।
कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।
हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *