चितवन टाइगर्सले पोखरालाई हराउदै पहिलो पटक उपाधि जित्यो


काठमाडौं, २४ असोज । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।
यो सँगै विजेताले चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्नेछन् । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराए । चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीम सार्कीको जारी इपिएलमा यो दोस्रो अर्धशतक हो ।
तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराएका थिए । किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए ।
चौथो विकेटका लागि भीम र दीलिप नाथले ५४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । दीलिप १८ रनमा क्याच आउट भए । दीलिपले १७ बलमा २ चौका प्रहार गरे । राजेश पुलामी मगर १२ बलमा १ चौका सहित १४ रनमा आउट हुन पुगे । पोखराका तीव्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो । पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए ।
ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए । सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसपछि पोखरा ब्याटिङ खासै सम्झन लायक रहेन ।
तीव्र गतिका बलर कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । छैटौं ओभरको अन्तिम बलमा साहन अर्चाचिगे साहब आलमबाट २ रनमा क्याच आउट भएका थिए । सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा अर्चाचिगे टप एज लागेर समातिन पुगे ।
स्पिनर सागर ढकालको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर विपिन रावल लङअफमा साहबबाट १७ रनमा क्याच आउट भएका थिए । विपिनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शेकुगे प्रसन्नाको १४ औं ओभरको दोस्रो बलमा किपिङ गर्नेक्रममा मोहम्मद शाहजादको औंलामा लागेपछि विकेटकिपर दीलिप नाथले गरेका थिए ।
कमलको १५ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका विवेक यादव लङअनमा सोमपालबाट ४ रनमा समातिन पुगेका थिए । एक बलपछि लोकेश बम एज लागेर विकेटकिपर दीलिप नाथबाट समातिदै गोल्डेन डक पेभिलिएन फर्केपछि पोखरा समस्यामा परेको थियो ।कप्तान विनोद भण्डारीले २६ बलमा २ चौका सहित २२ रनमा आउट भए ।
तल्लोक्रमका विक्रम सोब १ र नन्दन यादव शून्यमा आउट भए । चितवनका कमलसिंह ऐरीले ३।५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र शेकुगे प्रसन्नाले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
यसैगरी, चितवन टाइगर्सका स्पिनर सागर ढकाल एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । चितवनलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका हुन् । इपिएल अवार्डमा चितवनका खेलाडीको क्लिनस्विपनै रह्यो ।
सागरले बजाज पल्सर एनएस २ सय सिसी मोटर साइकल प्राप्त गरेका छन् । चितवनकै ब्याटर भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले ५१–५१ हजार प्राप्त गरे । चितवनलाई उपाधि जिताउन सागरले ७ खेलमा २६ ओभर बलिङ गद गर्दै कुल १ सय ४७ रन खर्चेर १४ विकेट लिएका थिए ।
सागर लिगमा सर्वाधिक विकेट लिने बलर हुन् । लिगमा सागरले विराटनगर वारियर्सविरुद्ध २ र काठमाडौं किंग्स इलेभेनविरुद्ध ४ विकेट लिएका थिए । ललितपुर प्याट्रियट्र्सविरुद्ध २, भैरहवाविरुद्ध १ र पोखराविरुद्ध क्वालिफायरमा ४ विकेट लिएका थिए । चितवनलाई उपाधि जिताउन कमलले ७ खेलमा १२ विकेट लिएका थिए । उनले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ५४ रन खर्चेका थिए ।
चितवनलाई उपाधि जिताउन कमलले फाइनलमा ४ विकेट लिएका थिए । ललितपुरविरुद्ध ३, पोखराविरुद्ध २ विकेट लिएका थिए । काठमाडौंविरुद्ध २३ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
भीम सार्की प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ७ खेलमा ६ इनिङमा ब्याटिङ गर्दै कुल १ सय ९६ रन बनाएका थिए । फाइनलमा भीम सार्कीले ६३ रन बनाएका थिए । पोखराविरुद्ध लिगमा भीम ५४ रनमा अविजित रहे । विराटनगरविरुद्ध ३० र ललितपुरविरुद्ध महत्वपूर्ण २७ रन जोडेका थिए ।
चितवनले शनिवार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । चितवन लिगमा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चितवनले पोखरालाई ९ विकेटले पराजित फाइनलमा स्थान बनाएको थियो । विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *