जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’ मा अभिनेत्री पन्त अनुबन्ध

काठमाण्डौ, २४ असोज । फिल्म ‘बुलाकी’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छिन ।
फिल्म ‘ग्रीन बर्ड’ को छायांकन पूरा हुनसाथ अभिनेत्री पन्तले नयाँ फिल्म साइन गरेकी छन् । जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको फिल्म ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् । उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताएकी छिन् । फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ । कात्तिकबाट फिल्मको छायांकन सुरु हुनेछ ।
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस फिल्ममा नरेन खड्का र विराज विस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने फिल्मको अधिकांश छायांकन डोल्पामा हुनेछ । कर्णालीको भाषामा बन्ने यस फिल्मको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह–निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।
शिव ढकालले खिच्ने फिल्मको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार÷प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । फिल्मले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताए ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । फिल्मले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक फिल्ममा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् ।
यसैगरी, यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर, नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।
शोभित बस्नेत निर्देशित यो फिल्मलाई तिहारको समयमा ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि र भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गरेकाले ‘डाँडाको वरपीपल’ दर्शकमाझ प्रतिक्षीत बनेको छ । फिल्ममा शिव र गौरी श्रीमान–श्रीमतीको भूमिका रहेका छन् । फिल्मको ट्रेलर यसै हप्ता सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *