एमालेले अनावश्यकरुपमा संसद अवरुद्ध गरिरहेको आरोप, राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ

काठमाडौँ, २४ असोज । नेकपा एमालेले अनावश्यकरु पमा संसद अवरुद्ध गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आरोप लगाएका छन । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन शनिबार उद्घाटन गर्दै उनले ‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद विघटनलाई जायज पुष्टि गर्ने प्रयास गरिँदैछ तर त्यो सम्भव छैन,’ भने, ‘संसद चाहिँदैन भने छोडेर गए हुन्छ, हामी छँदैछौं ।’ प्रचण्डले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन । उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताएका छन । “सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो । हिजोदेखि दुर्घटना ट¥यो,” पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।” देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उनले जोड दिए, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । अध्यक्ष प्रचण्डले भने, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ । यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।” निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए ।
कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताए ।
अध्यक्ष प्रचण्डले शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमाल नेपाली कांग्रेसका नेता रहेका कारण मन्त्री भएको दाबी गरेका छन ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसबाट हमाल मन्त्री बनेकोबारे सोधिएको प्रश्नमा प्रचण्डले हमाल नेपाली कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले अनावश्यक चर्चा गर्नु नपर्ने बताए ।
‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उनले कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन,’ भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’
उनले एमसिसी अहिलेकै अवस्थामा नभई दलीय सहमतिमा परिमार्जनसहित पारित हुने बताए । साथै, कोभिड–१९ विरूद्धको खोप व्यवस्था गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको प्रचण्डले बताए ।
जनतालाई राहत, विकास निर्माण, शिक्षामा सुधार, थाति रहेका विधेयक अघि बढाउनेलगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए । प्रचण्डले शिक्षा सम्बन्धी उच्च स्तरीय आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने पनि बताए ।
अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन । पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पारे । उनले भने, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।” सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै उनले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ भने ।
“यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ”, उनले भने, “यो नयाँ कुरा होइन ।” अध्यक्ष प्रचण्डले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै मानिसलाई त्यही भन्न मन लागेर भनेका होलान, तर यहाँ सेटिङ छैन भने । “सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उनले भने, “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।” अध्यक्ष प्रचण्डले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राखे । उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिए ।
लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उनले भने, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।” अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने, “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।” संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।” संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *