६४ लाख ३० हजारले कोरोनाको पूर्ण खोप लगाए

काठमाडौँ, २२ असोज । नेपालमा अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् । बिहीबार ५७ हजार १५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बिहीबार ८०५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा कोरोना परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पाइएको हो ।
बिहीबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ९४२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ ।
बिहीबार ९११ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट बिहीबार आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आइसियु), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरी, बिहीबार प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा देखिएको छ । विगत २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ गरी कूल १२६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा पाँच, इलाममा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा बिहीबार १४४ जना महिलासहित २६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुर्ई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र जिल्ला अस्पताल बैतडीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो ।
बिहीबार प्रदेशभर १५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २३ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ जना निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *