सत्ता गठबन्धनका दलहरु मन्त्रिपरिषद् विस्तारबारे छलफलमा व्यस्त, मन्त्री बन्नेहरुको नाम टुंगियो, आज मन्त्रिपरिषद विस्तार हुने

 

काठमाडौँ, २२ असोज । आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्नेहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाई सकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो । सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

यसैगरी ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीले सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै गरिसकेको छ । यद्यपि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । हाल माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।
नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा विरोध खतिवडा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ (किसान)लाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ ।
यसैगरी जसपा भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिएर सरकारमा सहभागी हुने छ ।

यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेका थिए ।
सत्ता गठबन्धनका शीर्ष नेताबीचमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए । सोही बैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली चयन गरेको छ ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा बिहीबार गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले शुक्रबार सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी रहेका छन ।
यस्तै बैठकले केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि शुक्रबार केन्द्रीय सचिवालयले नामावली टुङ्गो लगाउने उनले बताए । शुक्रबार केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएपछि पर्सीसम्ममा नाम सार्वजनिक गर्ने उहाँको भनाइ छ । नेकपा (एकिकृत समाजवादी)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ । यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ । प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए । बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको छ । उनले प्रदेश नं १ र वाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *