कालो बजारी गर्ने २ पसललाई कारबाही

 


भक्तपुर, २१ असोज । कालो बजारी गर्ने दुई पसललाई कारबाही भएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले बुधबार सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो बजारी गर्ने दुई पसललाई कारबाही गरी २० हजार जरिवाना लगाइएको अनुगमन टोलीका सहभागी एवं सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिए । दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भएको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ ।
त्यसैगरी म्याद नाघेको घ्यू, विभिन्न ब्राण्डका पेय पदार्थ, दही, बिस्कुट, क्यान जुस, जाम, अचार गरी रु १६ हजार बराबरको नष्ट गरिएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल झिङ्गा भन्केको, बासी र गन्हाउने मासु बिक्री गरेको पाइएको छ ।
भनपाको ब्रह्मायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको अनुगमनमा पशु बधशाला र मासु पसल न्यूनतम मापदण्ड पनि पूरा नभएको, दर्ता नगरेको, गन्हाउने मासु र सुकाएको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको अनुगमन निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *