६४ लाख १९ हजारले कोरोनाविरुद्धको पूर्ण खोप लगाए

 

काठमाडौँ, २१ असोज । नेपालमा अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले कोरोनाको पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् । बुधबार ५९ हजार ३७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
बुधबार एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । बुधबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । बुधबार ८९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ ।
यसैगरी, बुधबार प्रदेश नं १ मा तराईका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । मोरङमा सबैभन्दा बढी ५०, सुनसरीमा ४३ र झापामा ४५ जनामा सङ्क्रमण भएको छ भने पहाडी तथा मध्यपहाडी जिल्ला धनकुटामा तीन, पाँचथरमा दुई, इलाम र उदयपुरमा एकएक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको ऐन्टिजेन परीक्षण गर्दा ५२ जना गरी कूल १९७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको भनाइ छ । स्थानीय तहअनुसार मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा आठ, बूढीगङ्गा र रतुवामाइमा दुई÷दुई, पथरी शनिश्चरेमा एक, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा एक÷एक सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी झापाको भद्रपुरमा ११, कनकाइ र विर्तामोडमा सात÷सात, दमक, मेचीनगर र अर्जुनधारामा चार÷चार, कमल गाउँपालिकामा तीन, शिवसताक्षीमा दुई, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित भएका छन् ।
सुनसरीको इटहरीमा २६, धरानमा नौ, इनरुवामा चार, रामधुनीमा दुई, दुहवी र हरिनगरमा एक÷एक, धनकुटाको धनकुटामा दुई र पाख्रिबासमा एक, पाँचथरको हिलिहाङमा दुई, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा एक÷एक जनामा सङ्क्रमण देखिएको बताइएको छ । प्रदेशमा आजै ७७ पुरुषसहित १५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा बुधबार ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९३ जना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।थपिनेमा कास्कीका ५७ जना, स्याङ्जाका १५ जना, लमजुङ र गोरखाका छ÷छ जना, नवलपरासी पूर्वका पाँच र तनहुँका चार जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमित एक हजार ४३ जना छन् भने होम आइसोलेशनमा ८९७ जना रहेका छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कूल सङ्क्रमित ८६ हजार १८१ छन् भने हालसम्म निको हुनेको सङ्ख्या ८३ हजार ७६६ रहेको छ । सङ्क्रमणका कारण प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *