पोखरालाई पराजित गर्दै चितवन पहिलो पटक इपिएलको फाइनलमा


काठमाडौं, २० असोज । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक चितवन टाइगर्स फाइनलमा पुगेको छ । इपिएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भए । शाहजाद नन्दन यादवको बलमा कट एण्डबोल्ड आउट हुन पुगेका थिए । हासिम अन्सारी २० बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । करिम जन्नत ४ रनमा अविजित रहे । हासिमले जारी इपिएलमा पहिलो खेल खेलेका हुन् ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको घातक बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७.५ ओभरमा ४०–१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी १६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो । यो इपिएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका थिए। लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले ओपनर सुनिल धमलालाई १८ रनमा बोल्ड आउट गरे । धमलाले ३१ बलमा २ चौका प्रहार गरे ।
स्पिनर साहब आलमले नवौं ओभरको दोस्रो बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा एलबीडब्लू आउट गरे । विनोद पहिलो बलमै आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । तीन बलपछि साहबले सहान अर्चाचिगेलाई ३ रनमा विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराए ।
दशौं ओभरको पहिलो बलमा सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड आउट गर्दै पोखरालाई ४३–५ को अवस्थामा पुगेको थियो । सागरले विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरेपछि पोखरा संकटमा पुगेको छ । पोखराले अन्तिम पाँच रन जोड्न ५ प्रमुख ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको थियो । लोकेश बम ५ र विक्रम सोब ३ रनमा आउट भए ।
सुशान भारी १२ रनमा आउट भए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो ।चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । यसअघि २०१७ मा लिगमा पुछारमा हुँदै बाहिरिएको थियो । २०१८ मा एलिमिनेटरमा भैरहवासँग पराजित भएको थियो । चितवनले फाइनलमा उपाधिको लागि दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । लिगको खेलमा चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो ।
एलिमिनेटर खेलमा आजनै काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदै । एलिमिनेटरको विजेताले बिहीबार फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछन् । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *