इपिएलमा भैरहवासँग चितवन टाइगर्स ६ विकेटले पराजित


काठमाडौं, १९ असोज । ओपनर प्रदीप ऐरीको उत्कृष्ट ब्याटिङ भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भैरहवा दोस्रो स्थानमा उक्लिदै गर्दै क्वालिफायर नजिक पुगेको छ ।
जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भैरहवाका ओपनर प्रदीप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । प्रदीपको यो इपिएल करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । यसअघि प्रदीको उत्कृष्ट प्रदर्शशन पहिलो संस्करणको इपिएलमा ५५ रन बनाएको थियो । प्रदीपले नवौं ओभरको चौथो बलमा फाइन लेगमा तीव्र गतिका बलर गौतम केसीलाई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए ।
भैरहवालाई ओपनर तमिम इकबाल र प्रदीप ऐरीले पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै जित सहज नजिक पुर्याएका थिए । तमिमलाई भीम सार्कीले ४० रनमा बोल्ड आउट गर्दै चितवनलाई पहिलो सफलता दिलाएका थिए । तमिमले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । प्रदीप सागर ढकालको बलमा देव खनालबाट क्याच आउट भएका थिए ।
उपुल थरंगा १९ बलमा ३ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । रोहित कुमार पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । चितवनको फिल्डिङ खेलमा कमजोर रह्यो । तमिमले तीन जीवनदान पाएका थिए । शेकुगे प्रसन्नाको आठौं ओभरको तेस्रो बलमा ब्यक्तिगत २९ रनमा करिम जन्नतले क्याच ड्रप गरेका थिए । त्यसअघि भीम सार्कीले प्वाइन्टमा ब्यक्तिगत २२ रनमा क्याच ड्रप गरेका थिए । तमिमले ३९ रनमा पनि जीवनदान पाएका थिए ।
चितवनका करिम जन्नतले सर्वाधिक २ विकेट लिए । सागर ढकाल र भीम सार्कीले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए ।चितवनका नियमति कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनको कप्तानी दीलिप नाथले गरेका छन् ।
तीव्र गतिका बलर धाम्मिका प्रसादले तेस्रो ओभरको दोस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई शून्यमा बोल्ड आउट गरे । स्पिनर कुशल मल्लको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका शाहजाद लङअफमा दुर्गेश गुप्ताबाट क्याच आउट भएका थिए । करिम जन्नतले ब्यक्तिगत २० रनमा जीवनदान पाएका थिए ।
तीव्र गतिका बलर कृष्ण कार्कीको दशौं ओभरको दोस्रो बलमा टप एज लागेपछि सट मिडविकेटमा कप्तान शरद भेषावकरले क्याच ड्रप गरेका थिए । कुशलको ११ औं ओभरमा दोस्रो बलमा देव खनाल ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट ६ रनमा स्टम्पिङ आउट हुनपुगे ।
कृष्णको १५ औं ओभरको पहिलो बलमा जन्नत लङअफमा गुप्ताबाट समातिन पुगे । अभिनाश बोहराले १६ औं ओभरको पहिलो बलमा भीम सार्कीलाई १६ रनमा बोल्ड आउट गरेका थिए । दुर्गेशले राजेश पुलामीलाई १४ रनमा बोल्ड आउट गरे । राजेशले ७ बलमा ३ चौका प्रहार गरे । तल्लोक्रममा शेकुगे प्रसन्नाले ११ बलमा ३ छक्का सहित २४ रन बनाउँद्यै आउट भए । दीलिप नाथ ९ बलमा २ छक्का सहित १३ रनमा आउट भए ।
भैरहवा तीव्र गतिका बलर अभिनाश बोहराले अनिभनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।
चितवन यसअघिनै क्वालिफायरमा पुगि सकेको छ । भैरहवाले अन्तिम खेलमा काठमाडौंसँग मंगलबार खेल्ने छ । उक्त खेलमा भैरहवा विजयी भएमा शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने छ । पराजित भएमा आज हुने पोखरा राइनोज र काठमाडौं किंग्सबीचको नतिजाले प्रभाव पार्ने छ । काठमाडौं बाँकी दुबै खेलमा पराजित भएमा ललितपुर प्लेअफमा पुग्ने समिकरण छ ।
अंक तालिका
चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । भैरहवा ग्ल्याडियटर्स ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ दोस्रो स्थानमा छ ।पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर ५ खेलमा १ मा जित र ३ मा हार सहित ३ अंक जोड्दै चौथो स्थानमा । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा रहँदै बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *