फिल्म ‘डाँडाको बर पीपल’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं, १९ असोज । फिल्म ‘डाँडाको बर पीपल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । फिल्ममा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् ।
एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित नयाँ फिल्ममा शिव श्रेष्ठ र गौरी मल्ललाई बर र पीपलको जोडीको रुपमा प्रस्तुत गरेका छन् । फिल्ममा भुवन केसी आर्थिक रुपमा सम्पन्न गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा रहेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ट्रेलरले आकर्षित गर्न सक्छ । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता नवराज गिरी हुन् ।
चित्लाङ र काठमाडौंमा छायांकन भएको यस फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।
निर्देशक बस्नेतले यो फिल्मबाट आफ्नो पूर्नजन्म भएको बताउँछन् । कार्यक्रममा उनले भने, ‘मैले आजसम्म जति पनि फिल्म बनाएँ तीनमध्ये केही फरक छ ‘डाँडाको बर पीपल’ । म फेरि एकपटक पारिवारिक फिल्मका साथ फर्किएकाले यसलाई मेरो पूर्नजन्म भन्न मिल्छ । फिल्म साँचिक्कै उत्कृष्ट बनेको छ ।’ यो फिल्ममा भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गरेका हुन् ।
यसैगरी, कोरोना महामारीले थलिएको फिल्म क्षेत्रलाई अब कसरी उठाउने भन्नेमा सबै फिल्मकर्मीको ध्यान जानु पर्ने हो । तर, यतिबेला फिल्म क्षेत्रमा बेमौसमी बाजा बजिरहेको छ । गत वर्ष दीपाश्री निरौलाले ‘महानायक’ विवाद झिकेपछि फिल्म क्षेत्र लामो समय यसैमा रुमलियो । अघिल्लो हप्ता एक कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई ‘महानायक’ भनेपछि यो विवाद फेरि चर्किएको छ ।
एक दशक अगाडि ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले पहिलो पटक राजेश हमाललाई ‘महानायक’ घोषणा गरेको थियो । यसपछि चलचित्र प्राविधिक संघले औपचारिक कार्यक्रमकै बीच उनलाई ‘महानायक’ को उपाधि दियो । त्यसबेलादेखि यो विषयमा बहस हुँदै आएको छ । दर्शकको ठूलो वर्गले राजेश हमाललाई ‘महानायक’ मानेको छ भने फिल्मकर्मीहरुको भिन्न भिन्नै मत छ ।
राजेश हमाललाई ‘महानायक’ को पदवी दिएकोमा सबैभन्दा असन्तुष्ट यदी कोही छ भने भुवन केसीपछि निर्देशक शोभित बस्नेत हुन् । सबैभन्दा धेरै सफल फिल्म दिएकाले भुवन आफूलाई ‘महानायक’ को हकदार ठान्छन् । यद्यपि, उनले खुलेरै आफूलाई ‘महानायक’ चाहिँ भनेका छैनन् । तर, कसैले ‘महानायक’ को रुपमा सम्बोधन गर्छ भने उनले मौन स्वीकृति जनाउने गरेका छन् ।
शोभित बस्नेतले त भुवन केसीलाई नै ‘महानायक’ घोषित गर्न लागिपरेको कुरा कसैबाट लुकेको छैन । उनले राजेश हमाललाई ‘महानायक’ नभइ ‘जनताको नायक’ भन्ने गरेका छन् । यही कारणले गर्दा उनी बारम्बार विवादमा आइरहेका हुन्छन् । हमालका प्रशंसकहरुले त उनलाई रत्ति रुचाउँदैनन् । फिल्म क्षेत्रभित्रै कतिपयले उनलाई भुवन केसीको ‘प्रवक्ता’ समेत भन्ने गरेका छन् ।
अघिल्लो हप्ता आफू निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा शोभितले फेरि भुवन केसीलाई ‘महानायक’ को रुपमा सम्बोधन गरे । सामाजिक सञ्जालमा अहिले उनलाई गाली ओइरिएको छ । आफ्नो बोलीमा फिल्मकर्मी र दर्शक सहमत नभएपछि आइतवार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले राजेश हमाललाई नै ‘महानायक’ स्वीकार गरे ।
राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम सुरु गरेका उनले अब भुवन केसीलाई ‘महानायक’ नभन्ने वाचा गरे । उनले भने, ‘म गलत रहेछु । मैले सधैं राजेश हमाललाई सुपरस्टार भनेँ । मलाई लागेको थियो कि संसारमा सुपरस्टारभन्दा ठूलो पदवी अरु छैन । तर, मैले उहाँलाई सुपरस्टार भन्दा धेरैले विरोध गरेँ । त्यसैले हात जोडेर माफी माग्छु कि मैले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ ठूलो बुझेछु । अब म पनि राजेश हमाललाई ‘महानायक’ भन्छु । उहाँ ‘महानायक’ नै हुन् र सधैंभरी रहिरहनु हुनेछ ।’
राजेश हमाललाई ‘महानायक’ स्वीकार गरेका कारण कार्यक्रममा तस्विरलाई प्रमुख अतिथी बनाएको बताउँदै उनले अब आफूले भुवन केसीलाई सधैं ‘सुपरस्टार’ मात्र भन्ने बताए । उनले चाँडै राजेश हमाललाई लिएर नयाँ फिल्म बनाउने पनि घोषणा गरेका छन् । रोचक कुरा के छ भने शोभितले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म (१७ वटा) नै राजेश हमाललाई लिएर बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *