दोषीउपर हदैसम्मको कारबाही गर्न माग

 

रुपन्देही, १९ असोज । सीता भण्डारीको घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषीउपर हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणसँग माग गरिएको छ । तिलोत्तमा नगरपालिकाले भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा सोमबार गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको हो । नगरप्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
घटनाको विषयमा यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको नगरपालिकाले सत्यतथ्य छानबिन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटकपटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित भएको तथा आन्दोलन र विरोध दिनानुदिन बढ्दै गइरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ । घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायका लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं ८ चार नं माइत भएकी २७ वर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शङ्कास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ ।
यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *