६३ लाख ८४ हजारले कोरोनाको पूर्ण खोप लगाए

 


काठमाडौँ, १९ असोज । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । सोमबार कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । सोमबार एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत छ । पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन् । सोमबार एक हजारले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ । सङ्क्रमणबाट सोमबार १० जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ । हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् ।
यसैगरी, प्रदेश नं १ मा सोमबार १८६ जनामा कोरोना सङ्क्रमण भएको छ । आठ सय २६ जनाको पिसिआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४ मध्ये विराटनगरमा २८, सुनसरीमा २४, उदयपुरमा दुई, पाँचथर, ताप्लेजुङ, र धनकुटामा एक–एकजनामा सङ्क्रममण देखिएको हो । प्रदेशमा आजै १८७ महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा सोमबार ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । सोमबार प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई÷दुई र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो ।
सोमबार प्रदेशभर २९ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा १५ जनामा सङ्क्रमणको पुष्टि हुँदा २९ जना निको भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *