अस्पतालहरूलाई सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन, सरकारी अस्पतालको अवस्था निरीक्षण अभियान सुरु

 


भक्तपुर, १९ असोज । सरकारी अस्पतालहरूलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले निर्देशन दिएका छन । सोमबार मन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै उनले अस्पतालहरूलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन । राज्यमन्त्री श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गरेका छन । उनले भक्तपुर अस्पताल एउटा इतिहास बोकेको ११८ वर्ष पुरानो अस्पताल भएको भन्दै २०० शय्या सञ्चालनको लक्ष्य लिएकाले अस्पतालले जनतालाई निजी अस्पतालमा जानु नपर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन ।
भक्तपुर अस्पताल यहाँको शहरको मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त देखिन नहुने औँल्याए । सरकारी अस्पतालको अवस्था, सेवा प्रवाह कस्तो रहेको छ, के कस्ता समस्याहरू छन् भन्ने जानकारी लिन साताव्यापी अस्पताल ¬ अभियान सुरु गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अस्पतालको अवस्था जानकारी लिएपछि मात्रै योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताए ।
गाउँगाउँको अस्पतालमा जाने आफ्नो योजना रहेको भन्दै उनले भने, “स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर सरकारी अस्पतालको अवस्था हेर्ने अभियान सुरु गरेको छु, हिजो मानसिक अस्पतालमा पुग्दा छक्क परेँ, त्यहाँ १७ वर्ष भएछ, कोही मन्त्री नगएको, अनि कसरी थाहा हुन्छ अस्पतालको अवस्था ।”
अस्पताललाई दिनुपर्ने बीमाको पैसा अब सरकारले नरोक्ने बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, “बीमाका कारण गरिब जनताले निःशुल्क उपचार पाएका छन्, प्राविधिक कारणले बीमाको रकम भुक्तानीमा केही ढिला हुन गएको हो, अब बीमाको पैसा रोकिँदैन, दसैँअगाडि नै सबै सरकारी अस्पतालमा बीमा बापतको बाँकी रकम हामी पठाउँछौँ ।”
कार्यक्रममा भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतमले अस्पतालले दिँदै आएको सेवाका बारेमा जानकारी गराएकी थिईन । उनले आफू अस्पतालमा आएदेखि नै अस्पतालको सेवा विस्तारमा लागेको बताउँदै कोभिड–१९ को सुरुआतदेखि अहिलेसम्म गरेका कामको प्रगति बताईन ।
राज्यमन्त्री श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको निरीक्षण गरे । उनले अस्पतालले राष्ट्रियरूपमा कोभिडको बेलामा पनि ठूलो योगदान पु¥याएको चर्चा गर्दै पब्लिक अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाका रूपमा विकास गर्ने बताए ।
अस्पतालको समस्या र यहाँको अवस्थाका बारेमा उनले जानकारी लिएका थिए । मन्त्री श्रेष्ठलाई अस्पतालका निर्देशक डा विष्णु पौडेलले अस्पतालको समग्र अवस्था र सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए । त्यसैगरी शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्दैै उनले मिर्गौैला प्रत्यारोपणमा देखिएको भयावह अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । यो अस्पताललाई नमूनाका रूपमा अगाडि बढाउन निर्देशन दिँदै उनले सरकारले मिर्गौला, क्यान्सर, मुटु जस्ता सेवालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । मन्त्री श्रेष्ठलाई अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालका बारेमा जानकारी गराएका थिए ।
अस्पताल निरीक्षणका क्रममा मन्त्री श्रेष्ठसँगै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह तथा प्रमुख विशेषज्ञ सल्लाहकार महेश्वर श्रेष्ठले भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको सेवाका बारेमा चर्चा गरेका थिए । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर अस्पताल विगतमा भन्दा धेरै राम्रो भएको चर्चा गर्दै क्यान्सर अस्पतालको समस्या सुल्झाउनुपर्नेमा जोड दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *