नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत

काठमाडौँ, १८ असोज । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत रहेको छ । आइतबार एक हजार ४०५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २२४ पुगेको छ ।
आइतबार ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आइतबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार ८०४ जना पुगेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् । आइतबार २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, प्रदेश नं १ मा आइतबार १६८ जनामा कोरोना सङ्क्रमण भएको छ । आठ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६ मध्ये विराटनगरमा ३३, सुनसरीमा २०, इलाममा पाँच, उदयपुरमा तीन, धनकुटामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १६५ जना महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा आइतबार १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो । प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन् ।
कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ । स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताए ।
पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
आइतबार डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *