साँच्चै नेपाली कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त ?

काठमाडौँ, १८ असोज । सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी नेपाली कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताएका छन । वरिष्ठ नेता पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन । कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गरे ।
पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिए । “जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,” वरिष्ठ नेता पौडेलले भने, “तबमात्र काङ्ग्रेस बलियो बन्छ ।” सत्तरी वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिएका छन ।
यसैगरी, नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन । कांग्रेस काठमाडौँ महानगरपालिकाको आइतबार भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन ।
यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत केसीले बताए । लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो । काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।
यसअघि काठमाडौँको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *