राजनीतिक, साङ्गठनिक र विधान संशोधन तथा समसामयिक प्रस्ताव पारित गर्दै एमाले विधान महाधिवेशन सम्पन्न

काठमाडौँ, १८ असोज । राजनीतिक प्रतिवेदन, साङ्गठनिक र विधान संशोधन प्रस्ताव तथा समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । असोज १५ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित भएको हो । बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरे । सो महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आजै एप्सको शुभारम्भ गरिएको छ ।
जनादेशका माध्यमबाट पुनःराज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्पसहित नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज सम्पन्न भएको छ । कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक मानिएको यो महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक र विधान संशोधन प्रस्ताव तथा समसामयिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनले पार्टीलाई आशन्न निर्वाचनको तयारीका लागि गतिशील र सुदृढ बनाउने सङ्कल्प गरेको छ ।
महाधिवेशनको हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले प्रस्तुत गरेको विभिन्न समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । पारित प्रस्तावमा अनेकौँ प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वलाई अन्त्य गर्ने, संविधान र सङ्घीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उँचो पार्ने, रणनीतिक महत्वका पूर्वाधारलगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्नेजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
महाधिवेशनले पार्टीलाई विभाजन गरी छाड्ने मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्याले एमालेलाई विभाजन गराइएको घटनाप्रति विरोध व्यक्त गरेको छ । भ्रमबस विभाजनका पक्षमा लागेका पार्टी कार्यकर्तालाई पुनःपार्टीमा फर्केर पार्टीलाई सुदृढ गर्ने र एकताबद्ध एमालेका नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन अपिल गरिएको छ ।
महाधिवेशनले वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकका अधिकार अपेक्षा गरेको आरोप लगाउँदै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितको जमिनको हकलगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर सङ्घर्षरत रहने सङ्कल्प गरेको छ ।
महाधिवेशनले गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि अविलम्ब कारावाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न सरकारसँग माग गरेको छ । सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयकमार्फत् आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र विरोध जनाइएको छ ।
यसैगरी, नेकपा (एमाले) ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिए ।
महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *