साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालसँग माल्दिभ्स पराजित

काठमाडौं, १७ असोज । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । युवा फरवार्ड मनिष डाँगीको दर्शनीय गोलमा नेपालले शुक्रबार मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्समाथि १–० को जित हासिल गरेको हो । यससँगै नेपालले २२ वर्षपछि माल्दिभ्सलाई पराजित गरेको छ ।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले अघि बढाउँदै गोल गरेका थिए । त्यसक्रममा उनले तीन डिफेन्डरको चुनौती काट्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।
खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका थिए ।
नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो । त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित तथा ४ खेल भने बराबरीमा टुंगिएका थिए । दुई दशक भन्दा लामो समयदेखि नेपाली टोलीले माल्दिभ्सलाई हराउन सकेको थिएन । पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन । त्यति बेला नेपालले २–१ ले जितेको थियो ।
त्यसयताका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन । यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा भने बराबरी खेलेको थियो । पछिल्लो पटक नेपाल र माल्दिभ्सले सन् २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए । त्यसबेला सेमिफाइनलमा नेपाललाई ३–० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो । माल्दिभ्सले भारतलाई हराउँदै उपाधि नै जितेको थियो ।
यसैगरी, नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाल जितको हकदार रहेको बताएका छन् ।

उनले नेपालले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको बताए । ‘हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं । हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं । गोलरहित बराबरीमा रहनुले पनि उनीहरुलाई समस्या भएको थियो,’ उनले भने ।
‘हामीले मिनेट पिछे मिहिनेत गरेर जितको हकदार थियौं । हामीले उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं । सेट पिसमा केहि अवसर सिर्जना गरेका थिए, तर ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं । हामीले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । आजको हाम्रो हिरो मनिष डाँगी रहे,’ प्रशिक्षक अलमुताइरीले भने ।
अलमुताइरीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलको हारले आफू पनि निराश रहेको बताए । ‘मैले नेपालमा पनि भनेको थिएँ, उमेर मात्र अंक हो । कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन् । नेपालका समर्थक ओमानविरुद्ध ७–२ ले खेल्दा निकै निराश थिए । म आफैं पनि थिएँ । तर आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ ।’
‘मनिषले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो । आयुष घलान अर्का युवा खेलाडी हुन् जो धेरै सम्भावना बोकेका छन् । यो टोलीलाई अझै समय चाहिन्छ । निकै राम्रो भविष्य देखेको छु । ,’ उनले भने । प्रशिक्षक अलमुताइरीले अन्त्यमा सबैलाई संयमित रहन पनि आग्रह गरे । ‘ हामीले अहिले उपाधि जितिसकेका छैनौं । सबै संयमित हुन जरुरी छ । भोली विहान हामीले सबै कुरा बिर्सनुपर्छ । हाम्रो ध्यान अब अर्को खेलमा हुनेछ । त्यसैले नेपालमा रहेका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु,’ उनले थपे । नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे हुनेछ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *