असोज २१ गतेबाट सिनेमा हलहरु खुल्दै, पहिलो दिन हलिउड फिल्म लाग्ने


काठमाडौं, १७ असोज । सिनेमा हलहरु असोज २१ गतेबाट खुल्दैछन् । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले हल खुलेको पहिलो दिन (घटस्थापना) हलिउडको दुई बहुप्रतिक्षीत फिल्म ‘नोबडी’ र ‘फस्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्ने भएको छ । काठमाडौंसहित विभिन्न जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ नेपाली फिल्म नहुँदा हल बन्दै थिए । अब विदेशी फिल्म चलाएर सिनेमा हल खुल्ने तयारी गरिएको छ ।
प्रशासन कार्यालय हल खोल्न अनुमति दिनुभन्दा अगावैदेखि हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले दशैंबाट नियमित फिल्म रिलिज गर्नका लागि निर्मातासँग दिनहुँ छलफल गरेको थियो । तर, निर्माताहरुले माटो एमजी मागेपछि प्रदर्शकहरु पछाडि हटे । यस्तैमा बलिउड फिल्मले भकाभक रिलिज डेट घोषणा गरेपछि उनीहरुले राहतको सास फरेका छन् ।
नेपाल चलचित्र संघको निर्णय बमोजिम यही असोज २१ गतेबाट हल खोल्न सञ्चालकहरु तयार देखिएका छन् । राजधानीका प्रायः मल्टीप्लेक्सहरुले त फिल्मको रिलिज लाइनअप पनि घोषणा गरिसकेका छन् ।
१४ अक्टोबरबाट भने हलिउडकै ‘नो टाइम टू डाई’ प्रदर्शन हुनेछ । क्यूएफएक्स चेनले यी कुनै पनि फिल्मलाई शोज बाँडफाँड र अग्रिम बुकिङ खुल्ला गरिसकेको छैन । यसले आफ्नो वेब साइटमा असोज २६ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘डाँडाको वरपीपल’ को भने पोस्टर राखेको छैन । मल्टीप्लेक्सले नेपाली फिल्मलाई गर्ने व्यवहार कस्तो छ यसबाट पनि धेरै बुझ्न सकिन्छ ।
नयाँ वानेश्वरमा रहेको वान सिनेमाज्ले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनाबाट रिलिज हुने फिल्मको जानकारी दिएको छ । दुई अडिटोरियमको यो नयाँ मल्टीप्लेक्सले घटस्थापनमा ‘फस्ट एन्ड फ्यूरियस ९’ र महानवमीबाट ‘नो टाइम टू डाई’ रिलिज गर्दैछ । तर, यसले पनि वेब साइटमा हलिउड फिल्मको मात्र पोस्टर राखेको छ, ‘डाँडाको वरपीपल’ को पोस्टरलाई स्थान दिएको छैन ।
कमलपोखरीको सिटी सेन्टरमा रहेको तीन अडिटोरियमको विग मुभिजले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनामा हलिउड फिल्म ‘फस्ट एन्ड फ्यूरियस ९’, १४ अक्टोबर (नवमी) मा ‘नो टाइम टू डाई’ र अक्टोबर २९ (कार्तिक १२) मा ‘क्यान्डिम्यान’ रिलिज गर्ने जनाएको छ । चाबहिलको एफक्यूबले भने क्यूएफएक्सले झैँ घटस्थापनामा ‘नोबडी र फस्ट एन्ड फ्यूरियस ९’ रिलिज गर्दैछ ।
त्यस्तै, सुनधारामा अवस्थित सिडिसी सिनेमाज्ले घटस्थापनामा ‘फस्ट एन्ड फ्यूरियस ९’ मात्र रिलिज गर्ने भएको छ । यसले आफ्नो वेब साइटमा ‘डाँडाको वरपीपल, नो टाइम टू डाई, सूर्यवंशी, आरआरआर र केजिएफ २’ फिल्मलाई ‘कमिङ सून’ मा राखेको छ । क्यूज सिनेमाज्, आइएनआई लोटस सिनेमाज्, मन्नू सिनेमा हलमा पनि घटस्थापनाबाट ‘फस्ट एन्ड फ्यूरियस ९’ नै रिलिज हुँदैछ ।
यसैगरी, एक समय पप गायनमा निमा रुम्बाको ठूलो नाम थियो । ‘मिस् क्याटवाक’ गीतको सफलताले उचाइँमा पुगेका उनको ‘हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, मेरी प्रियसी’ जस्ता गीत आज पनि लोकप्रिय छन् । उनले आफूलाई गायन विधामा मात्र सीमित राखेका छैनन् । उनले नायक भएर फिल्ममा पनि अभिनय गरेका छन् । २००८ मा फिल्म ‘कागबेनी’ बाट उनले डेब्यू गरेका थिए ।
यो फिल्मपछि उनी न गायन न त फिल्म अभिनयमा नै सक्रिय भए । दर्शकलाई उनको अभाव भने हमेशा खड्किरह्यो । ‘सदाबहार गायक’ को रुपमा चिनिने रुम्बाले २०१८ मा फिल्म ‘छिरिङ’ बाट १० वर्षपछि नायकको रुपमा कमब्याक गरे । तर, उनका गीत सुनेर हुर्किएको पुस्ता भने उनको नयाँ गीतको प्रतिक्षामा बसेको थियो । अन्ततः त्यो प्रतिक्षाको घडी बिहीवारबाट सकिएको छ ।
उनको आवाजमा रहेको नयाँ गीत ‘पागल प्रेमी–२’ (क्रेजी लभर) सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र स्वर छ । यो गीत उनले केही वर्षअघि नै रेकर्ड गरेका थिए । उक्त गीतका लागि निमा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ ।
अमेरिकामा खिचिएको भिडियोमा निमा आफैं प्रमूख भूमिकामा छन् भने मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहको अभिनय छ । भिडियोमा अमेरिकन कलाकारहरुको पनि फिचर छन् । गीतको भिडियोमा अण्डरकभर मिशनमा रहेका जासुसको कथा समेटिएको छ ।
‘फिल्मी शैली’ मा तयार पारिएको भिडियोमा एक्सन, थ्रिल र सस्पेन्स भरपूर छ । मेकिङ क्यालिटी उच्च रहेको भिडियोमा निमा एक्सन अवतारमा प्रस्तुत छन् । ७ मिनेट २८ सेकेण्ड लामो भिडियो हलिउडको कुनै एक्सन फिल्मभन्दा कम देखिन्न । भिडियोमा अंशिका शर्मा बोल्ड अवतारमा देखिएकी छन् । गीतको भिडियो हेर्दा यो भन्न सकिन्छ कि निमा रुम्बाको कमब्याक जबरजस्त छ ।
यो भिडियोका निर्देशक आशिष श्रेष्ठ हुन् । भिडियोमा पटकथा र सम्पादन पनि उनकै रहेको छ । भिडियो युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन् । गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउडस्तरमा तयार भएर रिलिज भएकोमा खुसी व्यक्त गरे । उनी चाँडै नयाँ फिल्ममा पनि अभिनय गर्ने तयारीमा रहेको जानकारी प्राप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *