सिंहले सभापतिमा उम्मेद्वारी दिने


काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेता प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको शनिबार उद्घाटन गर्दै पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन । आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने नेपाली कांग्रेसका नेता सिंहले बताएका छन । उनले पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताएका छन ।
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरूले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, उनले भने ।
नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी गरे । नेता थापाले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताए । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *