समाजवादी क्रान्तिको युग सुरु भएको दाबी

काठमाडौँ, १७ असोज । समाजवादी क्रान्तिको युग सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले दाबी गरेका छन । शनिबार नेकपा (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले नेकपा (एमाले)मा हुर्कीएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताएका छन ।
एमाले विचारको सम्मान गर्न नसकेको तथा अल्पमतको सम्मान गर्न नसकेको आरोप लगाएका छन । आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको दाबी गर्दै उनले जवज हुबहु आत्मासात गर्नुपर्ने आवश्यकता नभएकाले यसको मुलभूत अवधारणालाई मात्रै आत्मासात गरेर जाने बताए । नेकपा समाजवादीको समाजवादको दृष्टिकोण फरक रहेको भन्दै उनले श्रमजीवी जनताको पक्षमा जनतालाई सर्वोपरि राख्दै समाजवादको यात्रामा अगाडि बढेको उनको भनाइ छ । नेताको होइन, नीतिको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महासचिव भुसालले भने, “हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन, मञ्चमा बसेर खादा र माला ओढ्दैन, नेता होइन, नीति मान्छ, व्यक्ति होइन, विचार मान्छ ।”
नेमकिपाले विचारलाई व्यक्तिवादी बनाउँदा भक्तपुरको एउटा नगरपालिकामा सीमित भएको भन्दै उनले अब आफ्नो पार्टी नीतिमा युवाको नेतृत्वमा अगाडि बढ्ने बताए । कार्यक्रममा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरबाट समाजवादीको यात्रा सुरु भएको बताउँदै तिहार अगाडिसम्ममा भक्तपुरका ३८ वडा, चार नगरपालिकामा सङ्गठनलाई विस्तार गर्ने र सबै भातृ सङ्गठनलाई पूर्णता दिने बताएका छन ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाएका छन ।
नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा उनले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरूले पार्टीमा विद्रोह गरेको स्पष्ट पारे । उनले पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाए । एकीकृत समाजवादीले युवा, विद्यार्थीको सङ्गठन विस्तार गरेको जनाएको छ । पार्टीका प्रशिक्षण कार्यक्रम सञ्चालनपछि सङ्गठन विस्तारका काम अगाडि बढाउने सो पार्टीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *