सबै कम्युनिष्टलाई पुनः एकतामा आउन प्रचण्डको आह्वान, जनयुद्धकालका सहयात्रीसँग पार्टी एकताका लागि छलफल सुरु

 

काठमाडौँ, १७ असोज । सबै कम्युनिष्टलाई पुनः एकतामा आउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आह्वान गरेका छन । पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउन आह्वान गरेका हुन । अध्यक्ष प्रचण्डले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल सुरु भएकोसमेत जानकारी दिएका छन ।
अध्यक्ष प्रचण्डले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिए । उनले भने “अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’’ उनले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिष्टहरू नयाँ एकतामा आउने विश्वास व्यक्त गरेका छन ।
अध्यक्ष प्रचण्डले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गरे । एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिष्ट आन्दोलन र मुलुक सङ्कटमा पारेको अध्यक्ष प्रचण्डको भनाइ थियो । अवस्था ठिक नदेखेपछि आफूहरूले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि पदको लोभमा नपरेको बताए ।
अध्यक्ष प्रचण्डले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिकको बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताएकी छिन ।
पार्टी स्थायी समितिसमेत रहेकी मन्त्री भुसालले माओवादीहरू आफ्नो सङ्गठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिङ्गो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गरिन ।माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उनले भनिन, “देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।”
ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताईन । “आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ सङ्गठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ”, मन्त्री भुसालले भनिन, “टोल, वडा, पालिकास्तरमा सङ्गठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ सङ्गठन बनाउँछौँ ।”
उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताईन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको उनको भनाइ छ । स्थायी समिति सदस्य भुसालले दशवर्षे जनयुद्धको जगमा उठेको जनआन्दोलन र मदेश अन्दोलनमा योगबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समावेश भएको संविधानलाई समाप्त पार्न षड्यन्त्र गर्ने विरुद्ध एकताबद्ध हुन आग्रह गर्दै श्रमजीवी जनताको पक्षमा लाग्ने पार्टीको पक्षमा जनताको विश्वास रहेको दाबी गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *